लोघेकरको बजेट ः बिद्यार्थीको नाममा अनिवार्य बैंक खाता

एसके थकाली \ जोमसोम
मुस्ताङ जिल्लाको दुरदराजमा अवस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आर्थिक वर्ष २०७८—०७९ देखि बिद्यार्थीको नाममा अनिवार्य बैंक खाता खोलिने भएको छ। बिहिबार लोघेकर दामोदरकुण्डको चराङमा आयोजित नवौं गाउँसभामा उपाध्यक्ष ढोका गुरुङले सार्वजनिक गरेको बजेटमा पालिकाको बृहत्तर शैक्षिक विकासका लागि स्थानीय तहको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै अबको नयाँ शैक्षिक सत्र सुरुसंगै बिद्यार्थीको नाममा बैंक खाता संञ्चालन गरी उच्चशिक्षा अध्ययनलाई सहज तुल्याउने जनाईएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पालिका भित्रका ८ वटै सामूदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकसंगको संयुक्त रुपमा साझेदारी गर्दै बिद्यार्थीका नाममा अनिवार्य बैंक खाता संञ्चालन गर्ने जनाईएको हो । यसका लागि सार्वजनिक गरिएको बजेटमा ५ लाख बजेट बिनियोजन गरिएको अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए ।
“पालिका भित्रका ८ वटै विद्यालयमा पढ्ने बिद्यार्थीको नाममा हामी बैंक खाता खोल्ने तयारी गरेका छौं ,सबै बिद्यालय गरी करिव ३ सय जती बिद्यार्थी छन् ,“अध्यक्ष बिष्टले भने,“अभिभावकको तर्फबाट २ सय र पालिकाबाट २ सय गरी मासिक ४ सय बिद्यार्थीको बैंक खातामा दाखिला हुन्छ ,यसरी जम्मा भएको एकमुस्ट पैसा उच्चशिक्षा अध्ययन गर्दा बिद्यार्थीलाई उपलब्ध गराईने छ ।’
लोघेकर दामोदरकुण्ड गापाले बिनियोजन गरेको बजेट अपुग भएमा पालिकालेनै थप बजेट छुट्याउन सक्ने अध्यक्ष बिष्टको भनाई छ ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले अभिभावकसंगको साझेदारीमा प्रत्येक बिद्यार्थीलाई मासिक ४ सय बैंकमा जम्मा गर्नेछ । कक्षा १ देखि ८ कक्षा सम्म पढाई संञ्चालन हुने सो पालिकामा सबै कक्षाका बिद्यार्थीलाई समान रुपमा बैंक खातामा रकम दाखिला हुनेछ । उच्चशिक्षा अध्ययन गर्दा बिद्यार्थी र अभिभावकलाई आर्थिक भार नपरोस र उच्चशिक्षाको अवसरमा बञ्चित हुन नपरोस भन्ने उद्देश्यले बिद्यार्थीका नाममा बैंक खाता खोल्ने निर्णय पालिकाले गरेको जनाईएको छ । यो निर्णय संग लोघेकर दामोदरकुण्डमा पढ्ने बिद्यार्थीको खातामा अब बार्षिक ४ हजार ८ सय रुपैया जम्मा हुने पक्का भएको छ ।
यस्तै,लोघेकर दामोदरकुण्ड गापाको बजेटमा निजी क्षेत्रको समेत सहभागी हुने जनाईएको छ । उपल्लो मुस्ताङको जिग्मे फाउन्डेसनले शिक्षा ,स्वास्थ्य ,पूर्वाधार र संस्कृति संरक्षण लगायतमा बजेट खर्च गर्ने गरी २ करोड १० लाख लागतको कार्यक्रम संञ्चालन गर्ने जनाईएको छ । यस्तै ,निजी क्षेत्रको संस्था पाईला नेपालले पालिका भित्रका अपांगता भएका बिद्यार्थीहरुको सिकाई सहजीकरण गर्ने उद्देश्यले ३ लाख ९७ हजार लागतको कार्यक्रम संञ्चालन गर्ने सम्झौता गरेको छ ।
भौगोलिक रुपले अत्यन्तै विकट मानिएको लोघेकर दामोदरकुण्डले शिक्षा ,स्वास्थ्य,कृषि ,पर्यटन र पूर्वाधार निर्माण लगायतलाई प्राथमिकतामा राखेर २६ करोड ८९ लाख ७७ हजारको अनुमानित बजेट पेश गरेको हो । लोघेकरले चालु खर्चतर्फ १० करोड ५० लाख ७५ र पँुजिगत विकास खर्च १४ करोड २४ लाख ८५ हजार बिनियोजन गरेको छ । यो बजेटमा निजीक्षेत्रको कार्यक्रममा खर्च हुने २ करोड १३ लाख ९७ हजार समावेश गरिएको छ ।निजी क्षेत्रले तय गरेको बजेट उनीहरु स्वंयमले श्रोतसाधन जुटाएर खर्च गर्नेछन् भने सोको अनुगमन पालिकाले गर्ने सम्झौता गरिएको छ ।
लोघेकर दामोदरकुण्डको सार्वजनिक बजेटमा संघीय सरकारबाट आउने बित्तिय समानिकरण ,सशर्त,बिशेष ।समपुरक र राजश्व बाँडफाँडको बजेट १७ करोड ८२ लाख ५६ हजार छ । यस्तै ,प्रदेशतर्फबाट बिभिन्न शिर्षकमा आउने बजेट ३ करोड ६१ लख ३८ हजार रहेको छ ।
बजेटमा गाउँपालिकाको आन्तरिक श्रोत १५ लाख र पालिकाको मौज्याद ५० लाख बजेटमा समावेश गरिएको छ ।
तपाईको प्रतिक्रिया