पत्रकार महासंघ कास्कीलाई ‘उत्कृष्ट शाखा सम्मान’

समाधान संवाददाता
नेपाल पत्रकार महासंघ कास्कीले उत्कृष्ट शाखाको सम्मान पाएको छ । पत्रकार महासंघको ६४औं स्थापना दिवसको अवसरमा केन्द्रीय समितिले काठमाडांैमा शनिबार आयोजना गरेको कार्यक्रममा कास्की शाखालाई सम्मान प्रदान गरिएको हो । पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर बिरहीले कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई उक्त सम्मान प्रदान गरे ।
पत्रकार महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा गर्ने गरी विधान संशोधन प्रस्ताव पारित भएको केन्द्रीय साधारण सभा आयोजना गर्न महत्वपूर्ण भूमिका खेलेबापत उत्कृष्ट शाखा सम्मान पाएको कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । कार्यक्रममा तत्कालीन पत्रकार संघलाई महासंघमा रुपान्तरण गर्न महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेबापत सुनसरी शाखालाई समेत उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको छ ।
यसैबीच स्थापना दिवसको अवसरमा पत्रकार महासंघ कास्कीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा पत्रकार महासंघका पूर्व उपसभापति बद्रीविनोद प्रतीकले कास्की शाखाले ३ पटक उत्कृष्ट शाखा सम्मान पाएको स्मरण गरे ।
उनले सरकार बलियो हुँदा जनताका अधिकार कुण्ठित हुन सक्ने भएकाले पत्रकारको दायित्व बढ्ने बताए । अल्पमतको सरकारले निर्णय गर्ने र कार्यान्वयन गर्न नसक्ने उल्लेख गर्दै उनले बलियो सरकारको सानो निर्णयले पनि हलचल मच्चाउने धारणा राखे । उनले २०१२ सालमा स्थापित पत्रकार संघ २०५२ सालमा पत्रकार महासंघमा रुपान्तरण भएको बताए ।
नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य तथा कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेलले प्रेस जगतलाई नियन्त्रण गर्न खोजे जनताले सही सूचना पाउन नसक्ने धारणा राखे । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका ग्यारेन्टी हुन आवश्यक छ,’ उनले भने, ‘पत्रकारले निर्वाध रुपमा काम गर्ने वातावरण बन्न जरुरी छ ।’
कार्यक्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला, पूर्व केन्द्रीय सदस्य सुष्मा पौडेल, ब्रोडकास्टिङ एसोसियसन अफ नेपालका महासचिव दुर्गा अधिकारी, पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना, पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य रामजी लम्साल, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापा, सञ्चारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारी, क्रियाशील पत्रकार महिला कास्की अध्यक्ष सरीता तिमिल्सिना पंगेनी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया