रामेश्वरी माविमा अभिभावक भेला

समाधान संवाददाता २०७९ असार १४ गते ११:१२

पोखरा ।
पोखरा महानगरपालिका १४ मा रहेको रामेश्वरी माविमा विद्यालय व्यवस्थापन समितिको उपस्थितिमा संयुक्त रुपमा अभिभावक भेला सोमबार भएको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि एवं विद्यार्थीको अनुशासन, दैनिक पठनपाठनको अवस्थाको बारेमा अभिभावकलाई सचेत र जानकारी गराउन अभिभावक भेला गरिएको हो ।

Advertisement

भेलामा विद्यालयका प्रधानाध्यापक पूर्णदीप सुवेदीले ‘मेरो विद्यालय म बनाउछु’ भन्ने अभियान अन्तर्गत अभिभावकलाई आफ्नो बाबुनानीप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने बताए । घरमा मोबाइलको सदुपयोग, गृहकार्यमा अभिभावकको विशेष निगरानी र आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराउने, विद्यालयमा रहने समयभन्दा अभिभावकसँग घरमा बस्ने समय धेरै भएकाले यसमा अभिभावकले ध्यान दिन उनले आग्रह गरे ।

विद्यालयमा अंक धेरै ल्याउने पढाइमात्र होइन, व्यावहारीक शिक्षा पनि आजको आवश्यकता भएकाले यसलाई विद्यालयमा समय सापेक्षित बनाउदै लैजानुपर्ने उनले उल्लेख गरे । विद्यालयका शिक्षक कमलराज ढुंगाना र प्रकाश पन्तले अभिभावकलाई सल्लाह, सुझाव दिनुका साथै प्रोजेक्टरमार्फत के कस्ता कुरामा आफ्ना बाबुनानीप्रति ध्यान दिनु पर्दछ भन्ने कुरा प्रस्तुत गरेका थिए ।

अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरप्रसाद ढुंगानाले सरकारी विद्यालय भए पनि यो विद्यालयले निजी सामुदायिक विद्यालयकै गुणस्तरमा शैक्षिक वृद्धि गर्दै लागेको उल्लेख गरे । अभिभावकको तर्फबाट मिरा विकले विद्यालयले छोटो समयमा राम्रो शैक्षिक गुणस्तर लगायत विद्यार्थीको अनुशासन, प्रत्यक्ष निगरानी गर्ने कुरामा उल्लेखनीय प्रगति गर्दै लगेको बताइन् । उनले विद्यालय प्रशासन, शिक्षकलाई धन्यवाद दिइन् । भेलाको कार्यक्रम सञ्चालन र प्राविधिक सहयोग विद्यालयका लेखा शिक्षक हरि जिसीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया