गण्डकी बहुप्राविधिक शिक्षालयमा कम शुल्कमा प्राविधिक पढाइ

रिखिराम जिसी २०७९ असार १४ गते १२:२७

पोखरा ।
बझाङका शैलेन्द्र बोहोराको सानैदेखि सिभिल इन्जिनियर बन्ने चाहना थियो । चाहना भए पनि गाउँमै सिभिल इन्जिनियर पढ्न सम्भव भने थिएन । कक्षा १० सम्म गाउँकै विद्यालयमा पढे । त्यसपछिको पढाई कहाँ गर्ने ? शैलेन्द्र अलमलमा थिए । कहाँ पढ्ने निधो गर्नै सकेका थिएनन् । कहाँ के पढ्न पाइन्छ भन्ने थाहा थिएन । गाउँमा मुस्किलले इन्टरनेट चल्थ्यो । इन्टरनेटमा सामग्री खोज्दा पनि कमजोर इन्टरनेटले भेट्न मुस्किल पथ्र्याे। सदरमुकाम गएको बेला बल्ल इन्टरनेट चलाउन पाउथे ।

Advertisement

नेटमा बसिरहेका बेला एउटा सूचनामा उनको आँखा पर्‍यो । सूचना थियो ‘पोखरा महानगरपालिका’को । महानगरपालिकाले सिभिल इन्जिनियरको पढाइ सुरु गर्न लागेको सूचना भेटेपछि शैलेन्द्र खुसीले फुलेल भए । उनलाई त ढुंगा खोज्दा देउतै मिलेको जस्तो भयो । तुरुन्तै अनलाइनबाट फर्म भरे । प्रवेश परीक्षाका लागि पोखरा आउनुपथ्र्यो । पोखरा आएर परीक्षा दिए । ‘सुरुमा नाम निस्कन्छ निस्कन्न थाहै थिएन,’ उनले भने, ‘तर पूर्ण छात्रवृत्तिमा नाम निस्कियो, त्यसपछि पढ्न पनि सजिलो भयो ।’

अहिले १३० विद्यार्थी छन् । डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङ, डिप्लो इन फरेस्टी, डिप्लो इन फार्मेसी र हेल्थ असिस्टेन्ट कार्यक्रम प्रस्ताव गरेका छौं ।
लक्ष्मण तिमिल्सिना, निर्देशक

उनी अहिले पोखरा महानगरले सञ्चालन गरिरहेको गण्डकी बहुप्राविधिक शिक्षालयको सिभिल इन्जिनियरको दोस्रो वर्षमा अध्ययनरत छन् । ३ वर्षे अध्ययन सकिए सरकारी जागिर खाने इच्छा छ शैलेन्द्रको । ‘परिवारको अवस्था हेरेर उच्च शिक्षा अध्ययन गर्ने चाहना छ,’ उनले भने, ‘अध्ययन सकाएर सरकारी जागिर खाने योजना बनाएको छु ।’ बझाङको मान्छे सिभिल इन्जिनियर पढ्न गण्डकी बहुप्राविधिक शिक्षालय नै किन ? जवाफमा शिक्षालयमा दक्ष अनुभवी शिक्षकद्वारा अध्यापन गराइन्छ भन्ने थाहा पाएर उनले गण्डकी प्राविधिक शिक्षालय रोजेको उनले बताए ।

स्याङ्जाका जुम्ल्याहा दिदीबहिनी सन्ध्या र समीक्षाको चाहना पनि शैलेन्द्रको जस्तै सिभिल इन्जिनियर बन्ने थियो । सानैमा पोखरा बस्न थालेका चापागाई परिवारका दिदीबहिनीले पनि महानगरले सिभिल इन्जिनियरिङको पढाई सुरु गर्दै छ भन्ने चाल पाए । ‘सुरु हुँदै छ भन्ने थाहा पाएपछि भर्ना भयौं,’ सन्ध्या भन्छिन् । दोस्रो वर्षमा अध्ययनरत दुई दिदीबहिनी दुवैको सपना सिभिल इन्जिनियर बन्ने छ । पढाई पूरा गरेपछि सरकारी जागिर खाने धोको राखेका सन्ध्या र समीक्षा गण्डकी बहुप्राविधिक शिक्षालयले आफूहरुलाई पढ्नका लागि काठमाडौं नै जानुपर्ने बाध्यता हटाइ दिएकोमा खुसी छन् ।

Advertisement

कोर्सको दोस्रो वर्षमा प्रवेश गर्दा इन्जिनियरको बेसिक काम सिकेको उनीहरु बताउँछन् । ‘थ्यौरीपछि प्राक्टिकल पनि गरिन्छ, जसले गर्दा सिक्न सजिलो हुन्छ,’ सन्ध्याले भनिन्, ‘सरहरुले सिकाउनु भएका कुरा दिदीबहिनी मिलेर घर गएर छलफल गछौं ।’
पोखराकै सिभिल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी स्मृति गिरीले पढेर सरकारी जागिर खाने इच्छा रहेको बताइन् । विद्यार्थी हरेक हप्ता प्राक्टिकलका लागि फिल्डमा जाने गर्छन् । नियमित फिल्डमा गएर सिक्न पाउदा व्यावहारिक सिकाई भएको गिरीले बताइन् ।

हाल शिक्षालयमा १ सय ३० विद्यार्थी छन् । उनीहरुमध्ये धेरैले प्राविधिक बनेर राम्रो जागिर खाने योजना बनाएका छन् । दक्ष जनशक्तिको बजार मागलाई ध्यानमा राख्दै दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्य राखेर ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरिएको हो । ०७६ साउनमा पोखरा महानगरपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको साझेदारीमा डिप्लोमा कोर्स सञ्चालन गर्ने निर्णय गरेको थियो । ०७६ पुसमा शिक्षा मन्त्रालय स्तरीय निर्णयपश्चात साझेदारी प्रस्ताव स्वीकृत भएको थियो । महानगरको सभाले २०७६ माघमा ऐन पास गरी ऐन बमोजिम निर्देशक नियुक्त भई काम सुरु भएको थियो । २०७७ कात्तिकबाट शिक्षालयले पहिलो ब्याच सञ्चालन गरेको थियो ।

हाल डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ गरी दुई कोर्षको अध्यापन हुँदै आएको शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए । ‘हाल २ कोर्षमा २ ब्याचका १ सय ३० विद्यार्थी छन्,’ उनले भने, ‘डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङ, डिप्लो इन फरेस्टी, डिप्लो इन फार्मेसी र हेल्थ असिस्टेन्ट कार्यक्रम प्रस्ताव गरेका छौं ।’ शिक्षालयले विद्यार्थीलाई ल्याउने लैजानका लागि बसको पनि सञ्चालन गरको छ । ३ वर्षे कोर्सका लागि शिक्षालयमा कोटा निर्धारण गरी छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । जसअनुसार शिक्षालयमा १० कोटामा विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् ।

६ कोटा सहुलियत र ३२ ओटा कोटा खुलातर्फका रछन् । सिभिल इन्जिनियरिङका लागि ३ वर्षको १ लाख ९५ हजार शुल्क छ । अटोमोबाइलको १ लाख ७५ हजार शुल्क तोकिएको छ । बजारमा अटोमोबाइल इन्जिनियरिङ भएका दक्ष जनशक्ति माग थियो । यद्यपि, सीप भएका दक्ष जनशक्तिको भने अभाव खड्किरहेको थियो । बजारमा दक्षजनशक्तिको अभाव भए पनि यहाँका युवा भने हातमा सीप नहुँदा बेरोजगार बस्नुपर्ने बाध्यता थियो । बेरोजगार युवालाई रोजगारी दिलाउन पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लियो । सोही योजना अनुसार अटोमोबाइल इन्जिनियरिङको अध्यापन सुरु गर्‍यो ।

पछिल्ला वर्षमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्छ । स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ । गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्तिसमेत विदेशी नै छन् । उच्च रोजगारी प्राप्तिको क्षेत्र भए पनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशि बाहिरिएको छ । सिभिल इन्जिनियरिङ अधिकांश प्राविधिक शिक्षालयमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् ।

हाल शिक्षालयले आफ्नो भवन नहुँदा पोखरा महानगरपालिका २९ भण्डारढिकको जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गरिरहेको छ । विद्यालयमा ४ कोठे ल्याब भवन, अटोमोवाइल ल्याब, रसायन शास्त्र, भौतिक शास्त्र, सिभिल कार्यशाला ल्याव, चित्रकार्यशाला निर्माण गरी अध्यापन सञ्चालन भइरहेकोे निर्देशक तिमिल्सिनाले बताए । संघ सरकारको विशेष अनुदान र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा शिक्षालयको ३६ कोठे आफ्नै भवन निर्माण सुरु भइसकेको तिमिल्सिनाले जानकारी दिए । पोखरा महानगरपालिका २९ खल्याणमा निर्माण सुरु गरिएको भवनको शिलान्यास तत्कालीन मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा गत फागुन ७ गते गरेका थिए ।

आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको हो । भवन ४० हजार ४ सय ९२ स्क्वायर फिटमा फैलिनेछ । शिक्षालयले महानगर तथा वडा कार्यालयको माग अनुसार छोटा अवधिका तालिम पनि सञ्चालन गर्दै आएको छ । ‘माग अनुसार मन्टेसरी, सिलाइ कटाइ, ब्युटिसियन, प्लम्बिङ, मोटरसाइकल मर्मत जस्ता छोटो अवधिका तालिम पनि दिँदै आइरहेका छाैं,’ तिमिल्सिनाले भने, ‘तालिमपश्चात उनीहरुलाई स्वरोगजारका कार्यक्रम सञ्चालन गर्न वडा तथा महानगरमा समन्वय गछौं ।’ सीपसँगै रोजगारीका लागि शिक्षालयले समन्वयकारी भूमिका खेलिदिँदा तालिम लिने धेरैजसोले काम पनि सजिलै पाएका छन् ।

स्थानीय आवश्यकता अनुसार प्रविधिको खोज, अनुसन्धान र विकासद्वारा महानगरको दीगो विकास, व्यवस्थित सहरीकरण र नगर समृद्धिको सपनालाई साकार पार्न आवश्यक दक्ष जनशक्ति शिक्षालयले उत्पादन गर्ने निर्देशक तिमिल्सिनाले बताए । मूलतः विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तीकरण गर्दै रोजगार मूलक स्वरोजगार र उद्यमशीलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने उनले जनाए ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया