पोखरा विश्वविद्यालयको बजेट डेढ अर्ब

समाधान संवाददाता २०७९ असार १५ गते १०:४७

पोखरा ।
पोखरा विश्वविद्यालय(पोविवि)को २२ औं साधारणसभाले विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम एवं रजिस्टार डा. दीपकबहादुर भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृत गरेको छ । पोविविको बजेट १ अर्ब ४६ करोड छ ।

Advertisement

बजेटमा पुँजीगत खर्चतर्फ ६४ करोड ३ लाख ५७ हजार र साधारणतर्फ ८१ करोड ९६ लाख ४३ हजार छ । प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा सभा भएको हो । प्रधानमन्त्री देउवाले सुन्दर नगरी पोखरामा अवस्थित पोखरा विश्वविद्यालय मुलुककै उच्च शिक्षाको एउटा गहना रहेकाले समाजलाई समुन्नत बनाउन र मुलुकलाई विकासको पथमा डोर्‍याउन यसको महत्वपूर्ण भूमिका भएको बताए ।

मुलुकमा दिगो शान्ति र राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै प्रधानमन्त्री देउवाले यसका लागि विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण रहने जाए । सकारात्मक सोच लिएर विश्वविद्यालयको विकास र विस्तारमा सबैले साथ सहयोग दिनुपर्नेमा उनको जोड छ । विश्वविद्यालयका सम्बन्धनप्राप्त महाविद्यालयहरुलाई बढीमा २ कार्यक्रम/समूह (सेक्सन) प्रतिस्थापन तथा थप गर्ने गरी महाविद्यालयलाई संकाय विशिष्टिकरण गर्ने विश्वविद्यालयको नीतिलाई परिमार्जन गरी सम्बन्धित महाविद्यालय/कलेजलाई स्वेच्छिक अवसर दिइने भएको छ ।

सभाले १० वर्षदेखि रोकिएको नया“ महाविद्यालयको सम्बन्धन प्रक्रियालाई समेत खुला गर्ने नीति अवलम्बन गरेको छ । मौजुदा सम्बन्धन शुल्कसमेत परिवर्तन भएको छ । सभाले विशेष मौका परीक्षाको व्यवस्था गर्न स्वीकृति प्रदान गर्दै विशेष मौका परीक्षामा सहभागी विश्वविद्यालयको १८ औं साधारण सभाको बैठकबाट भएको निर्णय बमोजिम विद्यार्थीको योग्यता, विद्यार्थीका सीमा, शर्त र परीक्षा सञ्चालनका विधि र प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ ।

नीति तथा कार्यक्रममा विश्वविद्यालयले भौतिक निर्माण र पूर्वाधार विकासमा जोड दिइएको छ । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका साथै केन्द्रीय कार्यालय प्रशानिक भवनमा २ तला थप, परीक्षा नियन्त्रण कार्यालयका लागि थप भवन निर्माण, मुँसेटुडामा रहेको जग्गाको विस्तृत गुरूयोजना अनुसार ५ हजार विद्यार्थी पठनपाठन गर्ने क्षमताका प्राज्ञिक भवन बनाइने भएको छ ।

Advertisement

पोविविले यसै शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत बिएएलएलबी कार्यक्रम र र शिक्षा विषयमा पिजिडिपिएस कार्यक्रम चलाउने भएको छ । यस्तै, स्वास्थ्य विज्ञान संकाय अन्तर्गत बिएस्सी एमआइटी, विज्ञान तथा प्रविधि संकायमा पिएचडी इन इन्जिनियरिङ, एमएस्सी सेनिनरी इन्जिनियरिङ, मानविकी तथा सामाजिक शास्त्र संकायमा पिएचडी इन डेभलपमेन्ट स्टडिज र व्यवस्थापन संकायमा पिएचडी इन म्यानेज्मेन्ट सञ्चालन गर्ने भएको छ ।

विश्वविद्यालयले सरकारको नीति अनुरूप मेडिकल कलेजको सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ । साथै विभिन्न संकायमा सञ्चालित स्नातक र स्नातकोत्तर तहका आंगिक कार्यक्रममासबलीकरण गर्न सरकार, सरोकारवाला एवं स्थानीय तहको सहभागितामा भूगोलको विशेषता र सम्भाव्यताको अध्ययन गरेर देशका ७ वटै प्रदेशमा आवश्यकता अनुसार आंगिक महाविद्यालय विस्तार गर्ने भएको छ ।

सम्बन्धन प्राप्त महाविद्यालयलाई आवश्यकता अनुसार सामुदायिक तथा निजी महाविद्यालयका रूपमा वर्गीकरण गरिने भएको सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया