गण्डकी प्रदेशका थप तीन विधेयक प्रमाणीकरण

समाधान संवाददाता, पाेखरा
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख कुँवरले ‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’,‘ प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणीकरण गरेका हुन्।
‘ताल संरक्षण तथा विकास प्राधिकरणसम्बन्धी विधेयक’ फागुन २७ गते ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ चैत १ गते र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ चैत ११ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको थियो।
पारित गरिएका तीन वटै विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले चैत १ गते प्रमाणित गरेका थिए।
सभामुख अधिकारीले प्रमाणित गरेका तीनवटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।
प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच/पाँचप्रति विधेयकमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका थिए। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि विधेयक ऐन बन्छ।
प्रमाणीकरणका लागि पठाइएका विधेयकलाई प्रमुख कुँवरले कानुन बनाउन सजिलो होस् भन्ने अभिप्रायले पाउने बित्तिकै प्रमाणीकरण गरेर पठाइदिने गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए।
निमित्त सचिव न्यौपानेका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघीय कानुन तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एकप्रति पठाइएको छ ।
तपाईको प्रतिक्रिया