बेसलाइन एकेडेमीमा रजत वर्षमा शिविर–खेलकुद

पोखरा ।
पोखरा १३ को बेसलाइन एकेडेमीले शिक्षा दिन थालेको २५ वर्ष भयो । ८४ विद्यार्थी र १० शिक्षकबाट सुरु भएको स्कुलमा अहिले करिब ७ सय विद्यार्थी छन् । ६० शिक्षक, कर्मचारी छन् । बेसलाइन विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने तयारीमा छ ।
बिहीबार पत्रकार सम्मेलन गरी स्कुलले रजत वर्षमा हुने कार्यक्रमबारे जानकारी दिएको हो । प्रबन्ध निर्देशक षडानन्द गौतमले वार्षिकोत्सवमा चित्रकलादेखि मिनी म्याराथन, स्वास्थ्य शिविरसम्मका कार्यक्रम तय भएको बताए । उनले भने, ‘हामीले शिक्षाको स्थानीय र राष्ट्रिय उद्देश्य बमोजिम स्कुल सञ्चालन गरेका छौं । हरेक शैक्षिक सत्रमा शुल्कको सूचीभन्दा माथि छात्रवृत्ति पाउने विद्यार्थीको सूची राख्ने गरेका छौं ।’
उनले विद्यालय सञ्चालनका क्रममा आएका उतारचढाव स्मरण गर्दै सामाजिक जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट बनेका विद्यार्थी देख्दा गौरव बोध हुने सुनाए । विद्यालयकी निर्देशक शोभालक्ष्मी पौडेलले शुक्रबार अन्तर विद्यालय चित्रकला प्रतियोगिता हुने जानकारी दिइन् । चित्रकलामा ५२ स्कुलका १ सय ४ विद्यार्थी सहभागी हुँदै छन् । साउन २० गते अन्तर विद्यालय एकल लोक नृत्य प्रतियोगिता, भदौ १ गते अन्तर विद्यालय अंग्रेजी स्क्रयाबल प्रतियोगिता, कात्तिक २५ मा नेपाली वक्तृत्वकला हुने तय छ ।
रजत वर्षमा बेसलाइनमा मंसिर १४ मा अन्तर विद्यालय सेभेन ए साइड फुटबल, माघमा स्वास्थ्य शिविर, माघ ९ गते मिनी म्याराथन, माघ १३ मा प्रभातफेरी र १४ गते रजत जयन्ती मूल समारोह हुने भएको छ । मंसिरमा हुने सेभेन ए साइड फुटबल प्रतियोगितमा ५० भन्दा बढी विद्यालयलाई सहभागी गराउने लक्ष्य छ । विद्यार्थीको सिकाईसँगसँगै भविष्यको जग मजबुत बनाउन बेसलाइनले आधुनिक शिक्षा प्रदान गरिरहेको निर्देशक पौडेल बताउँछिन् । उनी भन्छिन्, ‘हामी पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, चित्रकला, गायन, संगीत र खेलकुद सिकाउँछौं ।’
तपाईको प्रतिक्रिया