सोमबारसम्म पार्टी एकताको सबै विषय टुंगो लाग्ने प्रचण्ड भनाई

समाधान सम्वाददाता, काठमाण्डौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोमबार एकताको सबै विषयमा टुंगो लाग्ने बताएका छन् ।
नेकपा स्थापनाको ७० औं दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले शीर्ष नेतृत्वबीच सांगठनिक एकताका अधिकांश विवादमा सहमति भइसकेको भन्दै बाँकी विषयमा पनि सहमति खोजेर सोमबार एकताको अन्तिम घोषणा हुने दाबी गरेका हुन् ।
उनले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने बताए । ‘एउटा प्रिन्सिपलमा आधारित भएर, किनकि मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ दाहालले भने ।
उनले कार्यक्रममा सहभागी हुन आउनुअघि आफूले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताबारे छलफल गरेको पनि जानकारी दिए । सो छलफलमा आइतबार दिनभर गृहकार्य गरेर टुंगो लगाउने जिम्मा दुई जना नेतालाई दिएको पनि उनले बताए ।
उनले भने, ‘भोलिको दिनबाट नेकपाको लागि अर्को ऐतिहासिक दिन्न बन्नेछ । सांगठनिक लगायतका सबै एकता सम्पन्न हुनेछ ।’ उनले सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएको भन्दै त्यसबारे पनि अब पार्टीमा निर्मम समीक्षा हुने बताएका छन् ।
‘सरकारले काम गर्न नसकेको भनि गुनासो समेत आएका छन् । देशलाई नयाँ दिशामा अघि बढाउन गम्भीर ढंगले छलफल हुन्छ’ दाहालले भने ।
तपाईको प्रतिक्रिया