गाउँफर्क विद्यालयलाई सिद्धार्थ क्लबको सहयोग

पोखरा ।
सिद्धार्थ क्लब पोखराले रुपा गाउँपालिका ५ देउरालीफेदी स्थित श्री गाउँफर्क आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । रुपा गाउँपालिका वडा नं ५ का वडा सदस्य श्री मीना कमरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मीना कमरले क्लबले गर्दै आएको सहयोगले अभिभावकहरु विद्यार्थीको पठन पाठन तथा विद्यालय नियमित पठाउन उत्प्रेरणा मिल्ने बताइन् क्लबका अध्यक्ष प्रमोदनारायण श्रेष्ठले क्लबको सहयोगले विद्यार्थीको नियमिततामा वृद्धी हुनका साथै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग हुनेमा विश्वाश व्यक्त गरे ।
क्लबका सल्लाहकार समिति सचिव पार्वती माकाजू, शिक्षक अभिभावक संघका अध्यक्ष पुननारायण श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक पार्वती ढुंगना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तरकुमार जोशी र विद्यालयका पूर्व अध्यक्ष कृष्णप्रसाद बसौलाले क्लबको सहयोग महत्वपूर्ण रहने तथा सहयोगको उचित सदुपयोग हुने बताए । अभिभावकलाई विद्यार्थीको शैक्षिक अवस्थाबारे सक्रिय रुपमा जानकारी लिन र घरमा पठन पाठनको वातावरण सृजना गरिदिन अनुरोध उनीहरुले गरे ।
४२ जना विद्यार्थीलाई कापी, पेन्सील, इरेजर, कटर, लगाएतका शैक्षिक सामग्री प्रदान गरिएको थियो । क्लबका सचिव रवि मर्सानीले संचालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया