टप्सले दोस्रो पटक जित्यो ट्रफी

पोखरा ।
१७ औं प्याब्सन स्पोर्टस मिट’को उपाधि टप्स माविले जितेको छ । प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिटमा सर्वाधिक पदक जितेर टप्स च्याम्पियन हुँदै उपाधि जितेको हो । योसहित प्याब्सन स्पोर्टस मिटमा लगातार ६ पटक च्याम्पियन हुँदै दोस्रो पटक ट्रफीमाथि कब्जा जमाएको छ ।
प्रतियोगिता अन्तर्गत मावि सिनियर फुटबलको उपाधि स्नो भ्युले जितेको छ । पोखरा रंगशालामा भएको फाइनल खेलमा स्नो भ्युले शान्तिदीप माविलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । ६३ औं मिनेटमा दृष्य पुनले १ मात्र गोल गरे । उनी उत्कृष्ट खेलाडीसमेत घोषित भए । मावि सिनियरतर्फको फुटबलमा मेरी गोल्ड मावि तेस्रो भएको छ ।
जुनियरतर्फ फुटबल च्याम्पियन भने इडेन मावि भएको छ । इडेन र रेन्बो एकेडेमीबीच भएको फाइनलमा दुवै टिमले निर्धारित समयमा १–१ गोल गरेपछि टाइब्रेकरमा भएको थियो । इडेनका लागि सुभाष गुरुङ र रेन्बोका लागि अनुप पौडेलले गोल गरेका थिए ।
टाइब्रेकरमा ३–२ ले पराजित गर्दै इडेन च्याम्पियन बनेको हो । जुनियरतर्फ बेसलाइनले कुमुदिनीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हात पार्न सफल भयो ।
प्याब्सन कास्कीद्वारा आयोजित स्पोर्टस मिटमा सर्वाधिक पदक जितेर टप्स माविले छैटौं पटक च्याम्पियन बन्दै दोस्रो पटक ट्रफी कब्जा गरेको छ
छात्र माविको भलिबल फाइनल खेलमा सिर्जना माविले न्यु मोडललाई २५–१८, २५–११, २३–२५ र २५–२२ ले खेल जित्दै उपाधि जितेको छ । कक्षा ११–१२ (प्लस टु) छात्रतर्फ गुरुकुल माविले फाइनल खेल जितेको छ ।
गुरुकुलले सिर्जनालाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो । मावि छात्रतर्फ न्यू मोडलका सुशान्तसिंह ठकुरी र छात्र मावितर्फ टप्सकी सम्पदा गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
एथलेटिक्स मावि छात्रतर्फ टप्स मावि च्याम्पियन हुँदा बेथानी दोस्रो र लिटिल स्टेप मावि तेस्रो बने । मावि छात्रातर्फ टप्स मावि प्रथम, बेसलाइन दोस्रो र प्रगति मावि तेस्रो भएका छन् । एथलेटिक्स प्लस टुतर्फ प्रतिभा मावि प्रथम, स्नो भ्यू द्वितीय र सिर्जना मावि तृतीय भएका छन् ।
एथलेटिक्स छात्रतर्फ टप्सका ओमित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा छात्रातर्फ टप्सकै सविना खातुन मियाँ उत्कृष्ट बनिन् । बुधबार पोखरा रंगशालामा एथलेटिक्स ट्रयाक एन्ड फिल्डतर्फका खेल भएका छन् ।
मावि छात्रतर्फ १ हजार ५ सय मिटर दौडमा टप्सका ओमित गुरुङ पहिलो, लिटिल स्टेपका मिलन नेपाली दोस्रो र ढुंगे साँघु माविका सुमन गुरुङ तेस्रो भए । एथलेटिक्स ४ सय मिटरतर्फ बेथानीका सुरज गुरुङ पहिलो, सिर्जनाका आयुष खड्का दोस्रो र विएमजीका स्वप्नील कार्की तेस्रो बने ।
मावि छात्रातर्फ ४ सय मिटर दौडमा टप्सकी सविना खातुन मियाँ पहिलो, प्रगतिकी प्रिया सेवा दोस्रो र सगरमाथाकी अनुष्का अधिकारी तेस्रो बनिन् । रिले ४ हजार १ सय मिटर छात्रतर्फ टप्स मावि पहिलो, शान्तिदीप मावि दोस्रो र नेसनल इन्भेन्टिभ तेस्रो भएका छन् भने छात्रतर्फ टप्स, फिसटेल र सोसल पब्लिक क्रमश पहिलो, दोस्रो र तेस्रो भएका छन् ।
विजयी खेलाडीलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुंगाना, केन्द्रीय सल्लाहाकार गणेशमान सिंह भण्डारी, केन्द्रीय उपाध्यक्षद्वय वीरबहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सन केन्द्रीय सदस्य प्रेम शर्मा लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे ।
प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अध्यक्ष ढुंगानाले नेपालको समग्र शिक्षाको विकासका लागि निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले शिक्षासँगै खेलकुदको विकासका लागि नेपालमा खेलकुद विश्वविद्यालय आवश्यक रहेको बताए । सो अवसरमा १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने र प्याब्सन कास्की सचिव पुष्पराज पराजुलीले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया