हिसान स्पोर्टस मिट: भलिबल र बास्केटबल सुरु

समाधान संवाददाता २०७९ पुष ७ गते ११:२१

पोखरा ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट अनौपचारिक रुपमा बुधबारबाट सुरु भएको छ । स्पोर्टस मिट अन्तर्गत पोखरा रंगशालामा छात्र–छात्र भलिबल र बास्केटबलका खेल सुरु भएको हिसान कास्की अध्यक्ष यामबहादुर रोक्काले जानकारी दिए ।

Advertisement

छात्र भलिबल प्लस टु लेभलतर्फ पहिलो दिन ९ र छात्रातर्फ ८ खेल भएको भलिबल खेलका संयोजक किरण सापकोटाले जनाएका छन् । प्लस टु छात्र भलिबलमा ग्लोबलले साइनिङ स्टारलाई, सबलाइमले न्यू लाइटलाई, सिर्जनाले पोखरा आदर्शलाई, सगरमाथाले जुनियर सिटिजन एकेडेमीलाई, डायमन्डले शिशुनिकेतनलाई सोझो २–० सेटमा पराजित गरेका छन् ।

हाभर्डले पिकेजीलाई, भाष्करले रत्नज्योतिलाई, पश्चिमाञ्चलले मदरल्यान्डलाई, न्यू मोडलले गुरुकुललाई, युनिभर्सले लिटिल फ्लावरलाई पराजित गर्न सफल भएको संयोजक सापकोटाले जानकारी दिए ।

प्लस टु छात्रातर्फ माउन्ट अन्नपूर्णले युनिभर्सलाई, रत्नज्योतिले लिटिल स्टेपलाई, त्रिवेणीले बालोदयलाई, डायमन्डले पोखरा आदर्शलाई पराजित गरेका छन् । प्रतियोगिता अन्तर्गतनै बुधबार पहिलो दिन प्लस टु छात्रा बास्केटबलका पहिलो चरणका ८ खेल भएको बास्केटबल प्रतियोगिता संयोजक खिम गुरुङले बताए ।

केफले वेलननलाई ४०–० ले, पोखरा आदर्शले त्रिवेणीलाई २२–० ले, न्यू ग्यालेक्सीले मनकामनालाई १८–७ ले, ग्लोबलले सगरमाथालाई १८–४ ले, भाष्करले डायमन्डलाई ३५–२ ले, प्रतिभाले माउन्ट अन्नपूर्णलाई २८–४ ले, मेरी गोल्डले कास्की मोर्डनाइज्डलाई २२–१८ ले र जेसिएले सबलाइमलाई १४–८ ले पराजित गरेका छन् ।

Advertisement

शिक्षाको विकाससँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अघि बढाउन स्पोर्टस मिट आयोजना गरिएको हिसान कास्कीले जनाएको छ । स्पोर्टस मिट अन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न ४ खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धा आयोजना हुने छन् ।

१५ औं हिसान स्पोर्टस मिट पुस ७ गते गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए । १५ औं हिसान स्पोर्टस मिट सम्पन्न गर्न डा रामजी शर्माको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएका छन् ।

हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक शर्माले बताए ।

बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहनेछ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता हुनेछ । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता छ ।

ब्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयको सहभागिता छ भने सिंगल्स र डब्ल्स गरी १ सय ४१ प्रतिष्पर्धा हुने हिसान कास्कीले जनाएको छ । टेबुल टेनिसतर्फ ३४ विद्यालयको सहभागिता छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

पुस १० गतेसम्म चल्ने हिसान कास्की स्पोर्टस मिट गर्न करिब १५ लाख खर्च हुने अनुमान छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ६९ मध्ये ५१ शिक्षण संस्थाले सहभागिता जनाएका छन् ।

स्पोर्टस मिटमा ८ हजार विद्यार्थीको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचारप्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया