‘शिक्षण क्षेत्रमा वितृष्णा घातक’
शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भागेका अनुभवलाई बाँड्न सक्ने हुनुपर्छ: मिङ्मा तेञ्जिङ केसी

पोखरा ।
गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, उक्त परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पाएनन् । खोलिएको विज्ञापनमा पनि ४ सय जनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो ।
त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण पेशाप्रति बढ्दै गएको वितृष्णा र अरुचि ।’
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करणमा भएको ‘दुर्गमका सर–मिस’ विषयक सत्रमा नेपालको दुर्गम क्षेत्रको शैक्षिक अवस्थाबारे अन्तरंग कुराकानी भएको थियो । दाहालले सहजीकरण गरेको उक्त सत्रमा वक्ताका रुपमा पमा गुञ्जनसँगै मोइन उद्दिन र मिङ्मा तेञ्जिङ केसी सहभागी थिए ।
उनीहरुले आफूहरुले नेपालका विभिन्न दुर्गम ठाउँका विद्यालयमा पढाउँदा भोगेका अनुभव र त्यसको सुधारका लागि गर्न सकिने सुधारबारे दृष्टिकोण राखे । उनीहरु तीनै जनाले सरकारी दरबन्दीका शिक्षक बालबालिकाको पढाइमा गम्भीर नरहेको सुनाए ।
‘शिक्षक सेवा आयोगमा निकालेकाहरु पनि लोकसेवामा खरदार, नासुमा गइरहेको भेटिएका छन् । टिचिङ धेरैको सोचाइमा छैन । नयाँ पुस्तालाई शिक्षणमा कसरी आकर्षित गर्ने ?,’ दाहाल प्रश्न गर्छन् ।
तीन वटै वक्ताको एकै उत्तर थियो, ‘शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन सरकारी नीतिगत तहबाटै सुधार हुनुपर्छ । प्रधानाध्यापक, स्थानीय तह र अभिभावक पनि उत्तिकै जिम्मेवारी हुनुपर्छ ।’ उनीहरुले सरकारी शिक्षकमा मेहनतकै कमी भएको धारणा राखे ।
कुनै एउटा शिक्षकले विद्यार्थीको चाहना र मनोविज्ञानलाई अध्ययन गरेर पढाउन सकेमात्रै उक्त सिकाइ सफल हुने तेञ्जिङको भनाइ छ । ‘शिक्षक समाज बुझेको हुनुपर्छ र आफूले भागेका अनुभवलाई बाँड्न सक्ने हुनुपर्छ ।
५ वटा औंला त समान छैनन्, विद्यार्थीको रुचि पनि एउटै छैन भन्ने बुझ्नुपर्छ,’ भन्छन्, ‘एउटा टिचरले विद्यार्थीको इन्ट्रेस थाहा हुनुपर्छ ।’ वक्ता मोइन उद्दिन सबै विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै ‘एक्स्पोजर ट्रिप’मा लैजान सके उक्त सिकाइ प्रभावकारी हुने विचार राख्छन् । उनले आफूले पढाएका ठाउँमा उक्त उपाय धेरै प्रभावकारी देखिएकाले पनि समाज बुझ्न धेरै काम लागेको सुनाए ।
२०१८ मा पहिलोपल्ट डोल्पामा पढाउन पुगेकी झापाकी झापाकी गुञ्जन लुइँटेलले त्यहाँ सरकारी शिक्षक भेट्नै नपाएको सुनाइन् । एक शैक्षिक वर्षमा एकाधबाहेक त्यहाँ दरबन्दी पाएर गएका शिक्षकको दर्शनसमेत पाइनन्, बातचितको मौका त परै जाओस् ।
‘डोल्पामा म गएको सरकारी स्कुलमा टिचर भेट्नै पाइनँ । हुनुहुन्छ भन्ने सुनेंमात्रै,’ लुइँटेलले दुर्गमका विद्यालयका शैक्षिक अवस्थाबारे सुनाइन्, ‘एक जना शिक्षक आउनु भयो केही समय बसेर फर्किहाल्नुभयो । भेट्नै पाइनँ । उहाँहरु पढाउन इच्छुक हुनुहुन्थेनजस्तो लाग्यो ।’
‘टिच फर नेपाल’ नामक संस्थाबाट डोल्पामै पढाउन पुगेका मोइन उद्दिनले पनि त्यही परिस्थिति भोगे । शिक्षक सदरमुकामसम्म पुग्ने तर, विद्यार्थीसम्म कहिल्यै नपुग्ने आफैंले अनुभव गरेर फर्किए ।
‘एउटा शैक्षिक वर्षमा त्यहाँ पढाइ हुने भनेको ७ महिना नै हो । तर, उहाँहरु सदरमुकाममै बसेर हाजिर गरेर तलब लिएर जाने धेरै देखें,’ उनले भने, ‘विद्यार्थीसम्म पुगेको भेटिनँ ।’
काठमाडौंको सम्पन्नशाली निजी विद्यालयमा पढेका मिङ्मा तेञ्जिङ केसी पनि २०१८ मा पहिलोपल्ट टिच फर नेपालबाटै सिन्धुपाल्चोक भोटेनाम्लाङ पढाउन गएका थिए । त्यही पहिलो अनुभवले नै सधैं बालबालिकासँग जोडिइरहन प्रेरणा दियो ।
‘संयोगवश काठमाडौंमा राम्रो बोर्डिङ कुलमा पढ्न पाएँ । भोटेनामलाङमा पहिलो अनुभव थियो,’ तेञ्जिङले आफ्नो अनुभव बाँडे, ‘त्यहाँका विद्यार्थी कोही चप्पलमा आउने, नांगै आइदिने, भाइबैनी बोकेर आउने भेटिए । कोहीकोही त गाईबाख्रा चराएर बस्नुहुन्थ्यो ।’
गाउँमा शिक्षक भए पनि बाध्यताकै भूमरी फसेको तेञ्जिङले त्यहीं अनुभव गरे । राम्रो गर्ने प्रयास गर्दागर्दै पनि पनि असफल बनेका ‘मास्टर’ उनी त्यहीं भेटे । सुरुमा अंग्रेजी शिक्षक भएर सिन्धुपाल्चोक पुगेका तेञ्जिङ त्यहाँको आवश्यकता केवल शिक्षकमात्रै नभएको बुझे ।
‘त्यहाँ मैले अंग्रेजीबाहेक धेरै संगीत, खेलकुद पनि सिकाएँ । त्यहाँका महिलालाई फुटबल सिकाएँ । टुर्नामेन्ट पनि गर्न सफल भएँ,’ उनी खुसी सुनिए, ‘पहिलो पटक केटीहरुमात्रै खेल्न बाहिर जान पाए ।’
पहिलोपटक सिन्धुपाल्चोकमा स्वयंसेवक शिक्षकका रुपमा नगए पनि त्यहाँको शैक्षिक अवस्था हेरेर आफूले पनि पढाउन थालेको बताउँछन्, मोइन उद्दिन । सपनाविहीन विद्यार्थीलाई शिक्षासँगै सपनाको जग बसाल्न पनि आफूले पढाउन सुरु गरेको उनको भनाइ छ ।
‘सिन्धुपाल्चोलक टिचर हुन गएको होइन । तर, त्यहाँ गएसकेपछि बालबालिकासँग माया बस्यो,’ आफूले स्वयंसेवक शिक्षण सुरुगर्दाताकाका सुरुआती दिन सम्झिए, ‘त्यहाँका विद्यार्थीलाई सपना देखाउन सकिन्छ । सपना देखाउनमात्रै पूरा गराउन पनि सकिन्छ भन्ने थाहा पाएँ ।’
स्वयंसेवी शिक्षक गुञ्जन मिसले नेपालका कुनाकन्दरामा पुग्दापुग्दै गुञ्जन मिसको परिचय बनाएकी छन् । उनले नेपालका थुप्रै जिल्लामा पढाउन पुगे पनि आफूलाई ‘कर्णालीकी गुञ्जन मिस’कै रुपमा बढी चिनिएको सुनाइन् । ‘पढाउन गएको माया गर्न सिकेर आएँ । समाज, भूगोल र संस्कृति आफैंले सिक्न पाएँ,’ उनी भन्छिन् ।
तपाईको प्रतिक्रिया