शिवालय माविको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ पुष २२ गते ११:२५

पोखरा ।
कास्कीको रूपा गाउँपालिका २ थुम्कीस्थित शिवालय माविको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई शिवालय वर्ष सम्मान २०७९ प्रदान गरियो ।

Advertisement

सम्मानित हुनेमा ३ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने टीकाराम सुवेदी, अभिभावक मंगलप्रसाद ओझा, सञ्चारकर्मी सुरेनकुमार नेपाली ‘सुशील’, विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापकद्वय डा. नारायण ओझा र सुकमाया सुवेदी छन् ।

विद्यालयको गौरव बढाएको भन्दै शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझालाई शिवालय गौरव सम्मान २०७९ बाट सम्मान गरिएको छ । अध्यक्ष सुवेदीले आफ्नो ३ वर्षे कार्यकालमा सकेसम्म विद्यालयको हित हुने गरी काम गर्ने प्रयास गरेको बताए ।

वडा नम्बर २ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयमा गरेको कामकै आधारमा आफूलाई वडावासीले वडा अध्यक्ष बनाएको भन्दै धन्यवाद ज्ञापन गरे ।

शिक्षाबिना समाजका कुनै पनि पक्षको विकास सम्भव नभएकाले राज्यका हरेक तहले शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । जनताको शिर नझुक्ने गरी, जनताको मन नभाँचिने गरी नीतिभित्र रहेर काम गर्ने बताउँदै सुखमा नसके पनि दुःखमा सधैँ जनताको साथमा रहने सुवेदीले प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

शिक्षक–अभिभावक संघ अध्यक्ष रामचन्द्र ओझाले शिवालयको शैक्षिक उन्नति गर्नका लागि अभिभावकको साथ पाएको बताउँदै आगामी दिनमा थप सक्रियताका लागि आग्रह गरे । प्रधानाध्यापक रुपिन्द्र प्रभावीले विद्यालयलाई क्रमशः प्रविधिमैत्री बनाउँदै लगिएको बताए ।

हाल केही कक्षामा स्मार्ट बोर्ड र स्मार्ट टिभीका माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सिकाइ उपलब्धि बढेको अनुभव सुनाउँदै उनले अबका दिनमा भौतिकभन्दा बढी शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने योजना सुनाए ।

आर्थिक प्रतिवेदन विद्यालयका लेखापाल पूर्णबहादुर गुरुङले प्रस्तुत गरेका थिए । कार्यक्रममा रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कँडेलले विद्यालयको विकासका लागि शिक्षक, अभिभावक, विद्यार्थी, प्रशासन, व्यवस्थापन लगायतको उत्तिकै सक्रिय र सकारात्मक साथ चाहिने भन्दै शिवालयको प्रगति अनुकरणीय रहेको बताए ।

नेपाल शिक्षक संघ रूपा अध्यक्ष रामचन्द्र ओझाले शिवालयको इतिहास कोट्याउँदै आफूले चन्दा संकलन अभियान सञ्चालन गरेको स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्यसमेत रहेका उनले विद्यालयको विकासका लागि आफू जुनसुकै सहयोग गर्न तत्पर रहेको बताए ।

शिवालय मावि पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदीले विद्यालयको प्रगति देखेर गौरव लाग्ने गरेको बताए । उनले विद्यालयको विकासका लागि पूर्व विद्यार्थीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राख्दै शिवालयका सम्पूर्ण पूर्व विद्यार्थीलाई मञ्चमा गोलबद्ध हुन आह्वान गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व सुरेनकुमार नेपाली ‘सुशील’, पूर्व अध्यक्ष तिलबहादुर थापा लगायतले शुभकामना दिएका थिए । विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका कार्यक्रममा शिवालय बाल क्लबकी अध्यक्ष करिना ओझाले स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि तथा पूर्व प्रधानाध्यापक जयराम सुवेदीले गरेका थिए ।

सो अवसरमा विभिन्न प्रतियोगिता तथा शैक्षिक सत्र २०७८ का उत्कृष्ट विद्यार्थीलाई रूपाज्योति माविका प्रधानाध्यापक मनिराम कँडेल, पृथ्वीरूपा माविका प्रधानाध्यापक महादेव सुवेदी, शारदा आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम ओझा, विद्यालयका सहायक प्रधानाध्यापक ऋषिराम ओझा, शिक्षक रस्मिला खनाल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिराप्रसाद सुवेदी, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष भोजराज ओझा लगायतले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी र वरिष्ठ उपाध्यक्ष पोस्टराज सुवेदीले मञ्चका तर्फबाट २०७८ को एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने धीरज सुनार र कृति ओझालाई नगद ३/३ हजार रुपैयाँ प्रदान गरेका थिए ।

कार्यक्रममा नन्दकुमारी अक्षयकोष, पदमराज–मैनादेवी अक्षयकोष, तुलाराम अक्षयकोष, चूडामणि–बसुन्धरा अक्षयकोष, पूर्णबहादुर थापा अक्षयकोष, झगबहादुर गुरुङ अक्षयकोष, जमुनादेवी अक्षयकोष, तुलसी ढुंगाना अक्षयकोष, सरस्वती–दण्डपाणि अक्षयकोष, विश्वनाथ–डिलकुमारी अक्षयको र सुकमाया सुवेदी अक्षयकोषबाट विद्यार्थीहरूलाई छात्रवृत्ति वितिरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया