एनप्याब्सन कास्कीको स्थापना दिवस

समाधान संवाददाता २०७९ पुष २९ गते १४:४३

पोखरा ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) कास्कीले विविध कार्यक्रम आयोजना गरि २५ औं स्थापना दिवस मनाएको छ ।

Advertisement

स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसइईमा एनप्याब्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्रछात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाण पत्र वितरण गरिएको छ ।

कार्यक्रममा २०७८ को एसइईमा उत्कृष्ट अंक ल्याउने हेमजा बोर्डिङ स्कूलकी अनिशा दाहाल, बाल प्रतिभा वोर्डिङ स्कुलकी आशिका चपाई र लेखनाथ मेमोरियल इंगलिस बोर्डिङ स्कुलका सुजल भण्डारीलाई नगदसहित सम्मानपत्र प्रदान गरियो ।

एलपी देवकोटा मेमोरियल स्कूल, सिद्धार्थ लवडेल बोर्डिङ स्कूल, अल्फा एकेडेमी, वीरेन्द्र मेमोरियल बोर्डिङ स्कूललाई सम्मान गरिएको थियो ।

रिलायन्स पब्लिक स्कुल, लेकसिटी एकेडेमी र लेभिन रेसिडेन्टल स्कुललाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको छ । संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष मानव सेवा आश्रमलाई १ लाख ११ हजर १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

Advertisement

उक्त रकम संस्थाका अध्यक्ष हेमन्त अधिकारीलेले मानव सेवा आश्रम भवन निर्माण समितिका संयोजक विष्णु बराल र अभियान्ता सम्झाना बर्तौलालाई हस्तान्तरण गरेका थिए । संस्थाले मृगौला पीडित सागर मेमोरियल स्कूलका छात्र आयुष गुरुङलाई उपचार खर्च स्वरुप ९० हजार ५ रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले निजी विद्यालय र सामुदायिक विद्यालयलाई सरकारले समान दृष्टिकोणमा हेर्ने बताए । ‘निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्दछ,’ उनले भने,‘ केही समस्या भए समस्या बसेर समाधान गर्नु पर्दछ ।’

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले निजी विद्यालयका समस्या राष्ट्रको पनि समस्या भएकाले ती समस्या हल गर्न सधै तयार रहेको बताए । पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले निजी विद्यालयले शिक्षाको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताए ।

राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख लक्षमण देवकोटाले शिक्षालाई सीप र जीविकोपार्जनसँग जोड्न नसकेसम्म विद्यार्थी विदेश पलायन हुने समस्या नरोकिने बताए । कार्यक्रममा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले गुणस्तर शिक्षा दिनका लागि एन प्याब्सन सधै लागिपरेको बताए ।

एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एनप्याब्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण पौडेल र सचिव मनकाजी गुरुङले बोलेका थिए ।

तपाईको प्रतिक्रिया