शान्ति उदय माविको वार्षिकोत्सव

समाधान संवाददाता २०७९ माघ ५ गते ११:२८

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ स्थित शान्ति उदय माध्यमिक विद्यालय वरपाण्डेथुम कैलास कास्कीको ६३ औं वार्षिकोत्सव तथा ६४ औं अभिभावक दिवस विविध कार्यक्रमका साथ मंगलवार भएको छ ।

Advertisement

कार्यक्रममा नवनिर्मित ४ कोठे भवन सांसद विद्या भट्टराई अधिकारीले उद्घाटन गरिन् । उनले विद्यार्थीको सिर्जनशीलता जागृत गराउँदै संख्य भन्दा पनि गुणस्तरका लागि चिन्ता हुनुपर्नेमा जोड दिइन् । कास्कीको दक्षिण भेगकै शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको यस विद्यालयको गरिमा र महत्वलाई आत्मसात गर्दै पूर्वाधार विकासका साथै शिक्षाको गुणस्तरीयतालाई प्राथमिकतामा राख्न उनले सुझाव दिइन् ।

विद्यालयका पूर्व विद्यार्थी एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शान्ति उदय पूर्व विद्यार्थी मञ्च कक्ष उद्घाटन गरे । उनले मञ्चले विद्यालयको विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने शुभकामना दिए । हाल मोती भुजेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति रहेको पूर्व विद्यार्थी मञ्च यहाँ सक्रिय छ ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले विद्यालय परिसरमा सरस्वती मन्दिर शिलान्यास गरेका थिए । विद्यालयका विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक एवं सर्वांगीण विकासका लागि प्रभावकारी भूमिका खेल्न सकोस् भन्ने उद्धेश्यले शैक्षिक प्रदर्शनीसमेत भएको छ ।

शिक्षकहरु महेश चन्द र दुर्गाबहादुर थापाको सक्रियतामा विद्यार्थीले गरेको प्रदर्शनी अवलोकन गर्दै मौलिक सिर्जनालाई महत्व दिन तथा व्यवहारिक ज्ञान र त्यसको शिक्षण सिकाइमा नयाँ प्रविधिसँग प्रत्यक्ष साक्षात्कार गराउन यस किसिमको शैक्षिक प्रदर्शनीको ठूलो महत्व रहेकामा बक्ताहरुले जोड दिए ।

Advertisement

विद्यार्थीको मौलिक सिर्जनालाई महत्व दिने गरी प्रदर्शनीमा पाठ्यक्रममा आधारित विविध विषयका शैक्षिक सामग्री प्रदर्शन गरिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्यले स्थापनाको ६३ औं वार्षिकोत्सवसम्म आइपुग्दा विद्यालयले विभिन्न आरोह अवरोह पार गरेको सुनाए ।

सुविधा सम्पन्न ई लाइब्रेरीको व्यवस्था गरिएको, कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था, नियमित सह–क्रियाकलाप, विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग, पर्याप्त खेलमैदान आदिको व्यवस्था गरिएको उनले बताए ।
प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पारे ।

उक्त कार्यक्रममा कास्की क्षेत्र नं २ ककाट निर्वाचित गण्डकी प्रदेशका सांसद भीम कार्की, विद्यालयका पूर्व विद्यार्थी पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मनोहर आचार्य, महानगर शिक्षा अधिकृत सोमनाथ भण्डारी, साविक भरतपोखरीका पूर्व गाविस अध्यक्ष यज्ञप्रसाद अधिकारी , पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, भूपू विद्यार्थी मञ्चका सचिव वसन्त लम्साल, सदस्य सजना ढुंगाना, शिक्षक राजेन्द्र बस्ताकोटी, देवराज शर्मा लगायतले विद्यालयले शैक्षिक विकासमा खेलेको भूमिकाबारे चर्चा गरे ।

सो अवसरमा विविध सांस्कृतिक प्रस्तुतिका साथमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विभिन्न छात्रवृत्ति वितरणसमेत गरिएको थियो । कास्कीको दक्षिण भेगमा यस क्षेत्रका दूरदर्शी शिक्षाप्रेमीको सक्रियतामा वि.सं २०१६ सालमा कैलाश प्राविको नामबाट विद्यालय सञ्चालन सुरु गरिएको थियो ।

वि.सं. २०२४ सालदेखि शान्ति उदय माविका नाममा सञ्चालन भएको विद्यालयमा २०६५ सालदेखि कक्षा ११ र १२ का कक्षासमेत सञ्चालन हुँदै आएका छन् । शान्ति उदय माविबाट उत्पादित जनशक्ति देशको समाजिक, आर्थिक एवमं राजनीतिक लगायतका क्षेत्रमा उच्च ओहोदामा पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया