हेडमास्टरसँग कार्यसम्पादन सम्झौता

समाधान संवाददाता २०८० वैशाख २७ गते १३:५१

पोखरा ।

Advertisement

पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही रूपमा परिचालन गरी विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले कार्यसम्पादन करार सम्झौता गरिएको महानगरपालिका प्रमुख धनराज आचार्यले बताए ।

संघीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजना समेतको मर्मलाई आत्मसात गरी कार्यसम्पादनमा आधारित कार्यसूचीका २८ बुँदासहित स्थानीय शिक्षा नियमावलीको अनुसूची १६ अनुरूप प्रधानाध्यापकहरुको दायित्व हुनेछ । प्रमुख आचार्यले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारको विकल्प नभएको जनाए । अर्बाै खर्च भइरहेको शैक्षिक क्षेत्र सबैभन्दा धेरै आलोचनाको सिकार बन्नु गम्भीर चिन्ताको विषयमा भएको उनले सुनाउ ।

कार्यसम्पादन करार सम्झौतामा महानगरपालिकाका प्रमुख आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेका छन् । महाशाखा प्रमुख आचार्यले विद्यालयमा विद्यार्थीको पहुँच सुनिश्चिततासहित टिकाउदर बढाउनका लागि पनि यसो गर्नु आवश्यक रहेको सुनाए ।

प्रधानाध्यापकहरुले ५ वर्षे विद्यालय सुधार योजना, शिक्षक शिक्षण सुधार योजना र विद्यार्थी सिकाइ सुधार योजना बनाएर कार्यान्वयन गर्नुपर्ने

Advertisement

विद्यालय शिक्षा सुधारका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताउँदै उनले मुलुकमै पहिलो पटक प्रधानाध्यापकहरुको सेवा, सुविधा वृद्धि गरी हौसला प्रदान गरेकोसमेत उल्लेख गरे । अब आधारभूत तहमा विद्यार्थीहरूको भर्ना र टिकाउ दरमा वृद्धि, शैक्षिक शत्रभरी २ सय २० दिन विद्यालय सञ्चालन सहित कम्तीमा १ सय ९२ दिन पठनपाठनको सुनिश्चितता हुनुपर्ने छ ।

विद्यालयमा शिक्षक पदपूर्ति रिक्त भएको कम्तीमा ३० दिनभित्र गरिसक्नु पर्नेछ । सबै प्रधानाध्यापकहरुले ५ वर्षे विद्यालय सुधार योजना, १ वर्षे शिक्षक शिक्षण सुधार योजना र १ वर्षे विद्यार्थी सिकाइ सुधार योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्नेछ ।

विद्यार्थीलाई किताब केन्द्रित सिकाईभन्दा पनि परियोजनात्मक कार्यमा आधारित शिक्षण सिकाइका क्रियाकलाप नियमित सञ्चालन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सामाजिक परीक्षण समिति समयमा नै गठन गर्ने सम्झौतामा उल्लेख छ । महानगरले तयार गरेको स्थानीय पाठ्यक्रम केन्द्रीय शिक्षण सिकाइ क्रियाकलापहरू सञ्चालन गर्ने, समयमा नै पाठ्यपुस्तक विद्यार्थी उपलब्ध गराउने, आधारभूत शैक्षिक सामग्रीहरू उपलब्ध गराउने लगायत सम्झौतामा उल्लेख गरिएको छ ।

वार्षिक शैक्षिक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विद्यालय तहका परीक्षाहरू निर्धारित समयमा सम्पन्न गर्ने, अभिभावक भेटघाट र सचेतनामूलक कार्यक्रमहरु नियमित गर्ने, आधारभूत तहमा अध्ययनरत विद्यार्थीको विषयगत फाइल तयार गर्ने, कक्षा ५ सम्म निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली लागु गर्ने, विद्यालयमा कार्यरत अस्थायी (करार) शिक्षकको ६–६ महिनामा म्याद थप्ने, २–२ महिनामा नियमित विद्यालय अनुगमन निरीक्षण गराउने र सुझाव कार्यान्वयन गर्ने, महानगरको स्वीकृति बेगर प्रधानाध्यापक र शिक्षक अध्ययन, अध्यापन र व्यापार व्यवसाय लगायतका कार्यमा संलग्न नहुने करार सम्झौतामा उल्लेख छ ।

विद्यालयमा विषय समितिहरू गठन गर्ने, शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्ने, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले अनिवार्य रूपमा विद्यालय पोसाकको अनुशासन पालना गर्ने, विद्यालयलाई बलमैत्री, छात्रामैत्री, अपांगमैत्री, हिंसा तथा दण्डरहित र विपद् उत्थानशील बनाउने, विद्यालयमा किशोरी कक्ष सञ्चालन गर्ने, गुनासो सुनुवाइ कक्ष र सूचना अधिकारी अनिवार्य रूपमा व्यवस्था गर्ने, विद्यालय शैक्षिक वातावरणमा राजनीतिक गतिविधि, हिंसात्मक तथा विभेदजन्य व्यवहार र क्रियाकलाप गर्न नदिने लगायतका जिम्मेवारी प्रधानाध्यापकलाई दिइएको छ ।

विद्यालयमा पुस्तकालय तयार, विज्ञान विषय अध्यापन हुने विद्यालयमा प्रयोगशालाको व्यवस्था गर्ने, स्थानीय शिक्षा नियमावली २०७४ अनुसार तोकिएको संख्यामा कक्षा घन्टी लिने गरी विद्यालयका शिक्षकसँग समेत कार्यसम्पादन करार सम्झौता गर्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौताको सफल कार्यान्वयनका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीबीच अभिमुखीकरण गरी सबै पक्षको प्रतिबद्धता तथा अपनत्व आर्जन गर्दै करार अवधिभरमा प्रधानाध्यापक सक्रियतापूर्वक लाग्नुपर्ने छ ।

करारनामा गर्ने प्रधानाध्यापकले चालु शैक्षिक सत्रको वैशाख महिनाभित्र स्पष्ट कार्य योजना तयार गर्नुपर्ने छ । यी काम चौमासिक समीक्षासहित प्राप्त हुन नसकेका लक्ष्यको हकमा महानगरपालिकाको तर्फबाट कर्यायोजना बनाई सम्झौता कार्यान्वयन, सहजीकरण र अनुगमन संयन्त्रको विकास गरिनेछ । सम्झौता अनुसार शतप्रतिशत नतिजा हासिल गर्ने प्रधानाध्यापकहरुलाई पुरस्कार, प्रशंसा, सम्मान तथा तालिम र थप क्षमता विकासका अवसर प्रदान गरिने महानगरपालिकाले जनाएको छ । तोकिएका लक्ष्य पूरा गर्न नसक्नेलाई भने सचेत गराउने, नसिहत दिने, तलब वृद्धि रोक्का गर्ने लगायतका प्रक्रियाअघि बढाउने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया