‘भाषिक शुद्धताको वास्ता नगर्दा अर्थको अनर्थ हुन सक्छ’

मानक नेपाली व्याकरण र शब्दकोश बनाउन पहलको संकल्प

समाधान संवाददाता २०८० जेठ २७ गते २१:३१

पोखरा ।
नेपाली भाषासँग सरोकार राख्नेहरुले मानक व्याकरण र शब्दकोश बनाउन सम्बन्धित निकायमा विशेष पहलको संकल्प गरेका छन् । पृथ्वीनारायण क्याम्पसको नेपाली विभागले आइतबार आयोजना गरेको ‘मानक नेपाली भाषाको प्रयोगः समस्या र समाधान’ विषय गोष्ठीका सहभागीले उक्त संकल्प गरेका हुन् ।

Advertisement


पोखरा महानगरपालिकाको सहयोगमा आयोजित उक्त गोष्ठीमा समूह विभाजन गरी सुझाव संकलन गरिएको थियो । ‘अब उप्रान्त अशुद्ध प्रकाशन नगर्ने,’ गोष्ठीको संकल्पमा भनिएको छ, ‘कुनै पनि अशुद्ध तथ्यलाई प्रमाणित नगर्ने, अशुद्ध विवरणमा हस्ताक्षर नगर्ने, छापाखानले, अशुद्ध टंकण नगर्ने (टाइपिङ), अशुद्ध छपाइ नगर्ने ।’ कुनै पनि परिचय पाटी (साइन बोर्डमा ) नेपाली भाषा माथि राख्ने र अर्को भाषा तलपट्टि राख्ने पनि गोष्ठीको संकल्प छ ।


पृना नेपाली विभाग प्रमुख प्राडा कुसुमाकर न्यौपानेले भाषाका विवाद निरुपणको खोजीका लागि गोष्ठी आयोजना गरिएको जानकारी दिए । उनले नेपाली भाषा नेपाल र नेपालीको पहिचान भएको हुँदा यसलाई संरक्षण गरिनुपर्ने पनि बताए । क्याम्पस प्रमुख डा सरोज कोइरालाले गोष्ठी भाषा संरक्षणका लागि कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।


गोष्ठीमा भाषाविद् प्राडा चूडामणि बन्धुले ‘भाषाको मानकीकरण र नेपाली भाषा’ र त्रिवि नेपाली विभागका डा प्रेमप्रसाद चौलागाईंले ‘नेपाली भाषमा हुने गरेका त्रुटि र निराकरणका उपायहरू’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैमा आधारित रहेर विभिन्न समूहमा छलफल भएको थियो । गोष्ठीमा नेपाली भाषाका प्राध्यापक, अध्यापक, शिक्षक, विद्यार्थी, सरकारी कार्यालयका कर्मचारीहरु, कलाकार, व्यवसायी र पत्रकारहरु लगायत सहभागी थिए ।


भाषाविद् बन्धुले भाषालाई समय सापेक्ष बनाउनुपर्ने खाँचो औंल्याए । उनले जाति, भाषा, धर्म, लिंगलाई अपमान जनाउने शब्द र वाक्यहरु प्रयोग गर्न नहुने सुझाए । ‘मानक प्रयोग अर्थात भाषिक शुद्धताको वास्ता नगर्नाले अर्थको अनर्थ हुन सक्छ,’ उनले भने, ‘यसको बेवास्ताले प्रशासन, शिक्षा, सञ्चार सबै क्षेत्रमा प्रभाव पार्ने हुँदा समयमा नै मानक नेपालीको प्रयोगको सबलीकरण गर्नु अहिलेको आवश्यकता हो ।’

Advertisement


डा चौलागाईंले जे गरे भइहाल्यो नि भन्ने ढंगले लापरवाही गर्दा भाषा बिग्रने विचार राखे । उनले पत्रपत्रिकार, पुस्तकदेखि सरकारी कार्यालय र मन्त्रालयसम्मका भाषामा त्रुटि देखिने गरेको औंल्याए । ‘भाषाप्रेमी सबै व्यक्ति एवं संघसंस्था मिलेर जनस्तरबाट त्रुटिनिराकरण अभियान सञ्चालन गर्नुपर्छ,’ उनले भने, ‘यस अभियानका माध्यमबाट नेपाल सरकारका विभिन्न मन्त्रालयका परिचय पाटी, सूचना पाटी र सार्वजनिक स्थलमा राखिएका विज्ञापनहरूमा प्रयोग भएका त्रुटिको संशोधन गर्नुपर्छ ।’

नेपाली भाषा र संस्कृति जगेर्ना गर्ने खालका सांस्कृतिक प्रस्तुतिसमेत राखिएको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन नेपाली विभागका प्राध्यापक निर्मल सापकोटाले गरेका थिए ।

तपाईको प्रतिक्रिया