कपडा व्यवसायी एसोसिएसनमा रक्तदान

समाधान संवाददाता २०८० साउन १ गते १२:५१

पोखरा ।
कपडा व्यवसायी एसोसिएसन कास्कीद्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सहयोगमा आयोजित कार्यक्रममा ५२ जना रक्तदाताहरूले रक्तदान गरेका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी दिए ।

Advertisement


कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले व्यवसायीहरूले व्यापार व्यवसायका साथै उत्कृष्ट सामाजिक कार्यहरू समेत गर्दै आइरहेको बताए । कपडा व्यवसायी एसोसिएसन पोखरा उद्योग वाणिज्य संघको उत्कृष्ट वस्तुगत संघका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले यसका गतिविधिहरू स्मरणयोग्य रहेको बताए ।


व्यवसायीहरूको छाता संस्थाका हैसियतले संघ व्यवसायीका तमाम समस्याहरूको समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरामा प्रतिबद्ध रहेको उनले सुनाए । बजारमा उत्पन्न कठिनाइ लगायत राज्यका तर्फबाट हुनु पर्ने नीतिगत सुधार तथा सहजिकरणमा आफूहरू निरन्तर लागि रहेको उनले बताए ।


कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका सह–समादेशक प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्की, फ्लोरिङ एन्ड फर्नेसिङ व्यवसायी संघ कास्कीका अध्यक्ष जीवनप्रकाश श्रेष्ठ, थोक व्यवसायी संघका अध्यक्ष टीकाराम सुवेदी, कस्मेटिक व्यवसायी संघका अध्यक्ष दुर्गा बराल, बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका उपाध्यक्ष इन्द्र अर्याल लगायतले व्यावसायिक समस्याहरूको समाधानका लागि एकीकृत प्रयासमा जोड दिए ।


एसोसिएसनका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत रक्तदान कार्यक्रम गरिएको सुनाए । नियमित कार्यक्रमका रूपमा संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व रक्तदान जीवनदान, जीवनदान महादान भन्ने नाराका साथ उक्त कार्यक्रम गरिएको उनले बताए । संस्था अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेल र सञ्चालन संस्थाका सचिव एवं कार्यक्रमका संयोजक पूर्णबहादुर थापाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया