सेन्ट जेभियर्सलाई पछि पार्दै मदरल्यान्ड च्याम्पियन

पोखरा ।
प्रत्येक वर्ष बिसौँ हजार विद्यार्थीलाई इन्जिनियरिङ तथा आइटीको प्रवेश परीक्षाको तयारी गराउने संस्था पिइएद्वारा आयोजित हालै काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी इन्जिनियरिङ तथा आइटी क्विज प्रतियोगितामा सेन्ट जेभियर्सलाई पछाडि पार्दै पोखराको मदरल्याण्ड मावि च्याम्पियन भएको छ ।
काठमाडौंको एड्भान्स इन्जिनियरिङ कलेज बल्खुमा शनिबार भएको उक्त प्रतियोगितामा देशभरिका करिब ३५० प्लस टुबाट छनोट चरण पार गरेका ४४ समूह अन्तिम प्रतियोगिताका लागि सहभागी भएका थिए। छनोट चरण गत वर्ष माघदेखि भएको बताइएको छ ।
उक्त प्रतियोगितामा च्याम्पियन हुने विद्यालय मदरल्यान्डबाट कक्षा १२ का विनायक बाँस्तोला र प्रवेश बाँस्तोला गण्डकी प्रदेश स्तरीय छनोट प्रतियोगितामा प्रथम भई अन्तिम प्रतियोगितामा सहभागी भएका थिए । च्याम्पियन हुने विद्यालयले १ लाख रुपैयाँ नगदसहित २ वटा ल्यापटप, ट्रफी र मेडल गरी करिब ३ लाख बराबरको पुरस्कार जितेको मदरल्यान्ड माविका प्लस टु इन्चार्ज नारायण आचार्यले बताएका छन् ।
द्वितीय स्थान सेन्ट जेभियर्स काठमाडौं, तृतीय ब्लु बर्ड स्कुल ललितपुर र सान्त्वना स्थान होराइजन स्कुल बुटवलले हात पारेको कार्यक्रम संयोजक तथा प्रोफेसर एवं गणित विशेषज्ञ नीरज शर्माले बताएका छन् ।
पिइएले विशेष गरी १० जोड २ को अध्ययनपछि इन्जिनियरिङ तथा आइटीका क्षेत्रमा भविष्य देख्ने विद्यार्थीका लागि प्रवेश परीक्षाको तयारीका साथ बौद्धिक विकास हुने प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया