‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’

समाधान संवाददाता २०८० साउन १४ गते १३:२३
प्रतिभा माविले शनिबार आयोजना गरेको अभिमुखीकरणमा श्रृष्टि केसी ।

पोखरा ।
पोखराको प्रतिभा माविले विज्ञान विषय अध्ययन गर्न कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि शनिबार स्वागत तथा अभिमखीकरण आयोजना गरेको छ । विषयगत विज्ञ बोलाएर विद्यार्थीलाई अभिमुखीकरण गर्दै आएको विद्यालयले शनिबार ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष श्रृष्टि केसीलाई निम्त्याएको हो ।

Advertisement


१० कक्षामा हुँदा गलत उपचारले दृष्टि गुमाएकी केसी हाल दृष्टिविहीनको अधिकारको क्षेत्रमा क्रियाशील छिन् । दृष्टि गुमाएपछि सबैले भविश्य सकिएको भनेर गुनासो गरिरहँदा केसी भने अध्ययनमा अब्बल बनिन् । दृष्टिविहीन हुनुपर्दाको अवस्था र आफू कसरी सफल हुन सकिन्छ भनी केसीले अनुभव विज्ञान विषयका विद्यार्थीसँग साछिन् ।


‘दृष्टि गुमाउँदै गर्दा मेरा लागि शिक्षामा खर्च नगर्न कतिपयले मेरा अभिभावकलाई भनेका थिए । तर, मैले मेरो आत्मा बलियो बनाएर अध्ययन गरें । त्यसले मलाई सफलता दिलायो,’ केसीले भनिन, ‘यतिसम्म कि दृष्टिविहीन हुनुपर्दा मलाई धेरै कलेजले भर्ना लिनै मानेका थिएनन् । तर, मैले पाएको अवसरलाई उपयोग गर्नेगरी निकै नै दुखका साथ अध्ययन गर्दा सफलता हात लागेको थियो ।’


आफूलाई कहिल्यै कमजोर नठान्न विद्यार्थीलाई उनले आग्रह गरिन् । ‘भोलिका लागि आज राम्रो गर्नुपर्छ । चाहने हो भने हरेक क्षेत्रमा सफलता मिल्छ,’ उनले भनिन्, ‘म सक्दिनँ भनेर कहिल्यै हरेस नखानू । सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ ।’ उनले आफनो सफलता सानोतिनो मेहनतले नआएको सुनाइन् ।


दृष्टि गुमाएपछि जसोतसो कलेज भर्ना हुन पाएकी उनले शिक्षकले पढाएको रेकर्ड गरेर सुन्ने गरेकी थिइन् । ‘ब्रेकमा साथीहरु खाजा खान क्यान्टिन जाँदा म भोकभोकै बसेर कक्षामा पढ्थे, मलाई पनि भोक लाग्थ्यो, तर, मसँग पेटको भन्दा पढाइको भोक थियो, त्यही पढाईले पूरा गर्दा सफल हुन पाएँ,’ उनले सुनाइन् ।

Advertisement


प्राचार्य किरण सापकोटाले ११ र १२ कक्षामा गर्ने २ वर्षको मेहनतले साच्चै राम्रो भविश्य हुने बताए । ‘अबका २ वर्ष जिन्दगीका लागि सबैभन्दा महत्वपूर्ण छन् । यो अवधिको मेहनतले जिन्दगी उज्यालो हुन्छ,’ उनले भने । प्रतिभा माविले शक्तिशालीभन्दा पनि असल व्यक्ति बन्न सघाउने उनले जनाए ।


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यार्थीलाई राम्रो व्यक्तिको संगत गर्न सुझाए । ‘अहिलेको समय यस्तो छ कि एक मिनेटमै भाइरल बन्ने बेला हो । त्यसैले संगत राम्रो गरेर अब्बल बनेर निस्कनुपर्छ,’ उनले भने, ‘नकारात्मक नभई सकारात्मकताको बाटोमा अघि बढ्नुपर्छ ।’


विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण पौडेलले विद्यार्थीले भविश्य कता लैजाने भन्ने अबको अध्ययनले बताउने बताए । कार्यक्रममा गायक शिव परियारले झन्डै दर्जन गीत गाएर विद्यार्थीलाई मनोरञ्जन दिलाएका थिए । विद्यालयले शुक्रबार व्यवस्थापन र होटल व्यवस्थापन विषयका विद्यार्थीका लागि स्वागत र अभिमूखीकरण कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया