ग्रान्डमा न्यू ग्यालेक्सी स्कुलमा स्वागत तथा अभिमुखीकरण

पोखरा ।
पोखराको नदीपुरस्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, पर्यटन तथा होटल म्यानेजमेण्टमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम होटल पोखरा ग्राण्डमा उत्प्रेरणा र अभिमुखीकरणसहित सम्पन्न गरेको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल डा. रामजी शर्मा र मोटिभेटर रवि किरणको उत्प्रेरणत्मक विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरु तथा उपस्थित सम्पूर्णलाई विज्ञान संयोजक दीपक अधिकारीले मन्तव्य मार्फत स्वागत गरेका थिए ।
हिसान कास्कीका उपाध्यक्ष तथा हिल प्वाइन्ट माविका संस्थापक प्रिन्सिपल दिवाकर जैशी, विद्यालयका संस्थापक डाइरेक्टर राजु कायस्थ, संस्थापक भाइस प्रिन्सिपल राजेश भण्डारी लगायतले नवआगन्तुक विद्यार्थीको उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयमा अध्यपनरत शिक्षकहरु र अतिथिहरुले कक्षा एघारका नवआगन्तुक विद्यार्थीहरुलाई खादा तथा टीका लगाएर स्वागत गरेका थिए । २३ वटा जिल्लाका विद्यार्थीहरु अध्ययनरत विद्यालयमा गत वर्ष जस्तै यस वर्ष पनि होटल व्यवस्थापनमा ३ सेक्सन, म्यानेजमेन्टमा २ सेक्सन र विज्ञान तर्फ २ सेक्सन गरी जम्मा ७ सेक्सन भर्ना लिदै आएको प्रिन्सिपल डा. शर्माले जानकारी गराए ।
प्रिन्सिपल डा. शर्माका अनुसार विद्यालयले अध्ययन, अनुसन्धान र अतिरिक्त क्रियाकलापलाई सन्तुलितरुपमा अगाडि बढाएको र कक्षा १२ को गत परीक्षाको नतिजामा विज्ञान विषय अध्ययनरत छात्रा दीपा आर्चायले प्रदेशमै छात्रातर्फ उच्चतम अंक ल्याउन सफल भएको जानकारी गराएका थिए ।
छात्र डेनियल घर्ती मगरले हिसान कास्की आइडलमा फस्ट रनर अपको उपाधि, राष्ट्रिय स्तरको नेपाल स्पेल वि प्रतियोगितामा विद्यालयकी छात्रा सिसम श्रेष्ठले प्रथम स्थान तथा दीपा आर्चायले सेकेन्ड रनर अपको उपाधि हासिल गर्नुका साथै हिसान कास्कीले आयोजना गर्ने स्पोट्र्स मिटमा लगातार ४ वर्ष जिल्ला च्याम्पियन बन्न विद्यालय सफल भएको जानकारी गराए ।
विद्यालयले विद्यार्थीमा भएको अन्तरनिहित क्षमताको विकास र अभिवृद्धि मार्फत परम्परागत शिक्षण विधिलाई विस्तारै प्रतिस्थापन गर्दै समयानुकुल परियोजनामा अधारित खोजमूलक विद्यार्थी केन्द्रित शिक्षण विधिको पालना गर्दै जाने जानकारी शर्माले गराएका थिए । कार्यक्रममा यस बर्ष मेडिकल, नर्सिङ तथा इन्जिनियरिङ जस्ता विषयमा छात्रवृत्तिमा पर्न सफल विद्यार्थीहरुलाई बधाई पनि दिइएको थियो ।
तपाईको प्रतिक्रिया