पोखरा आदर्श स्कुलले कविता र फुटसल प्रतियोगिता गर्ने

समाधान संवाददाता २०८० भदौ १३ गते १६:४५

पोखरा ।
पोखरा आदर्श सेकेन्डरी स्कुल, पोखरा १ बगरले स्थापनाको २५ औं वर्ष (रजत जयन्ती) को अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । त्यस अवसरमा विद्यालयले जिल्ला स्तरीय कविता वाचन कार्यक्रम भदौ २८ गते बिहीवार आयोजना गर्न लागेको छ । कार्यक्रम संयोजक ज्ञानेश्वर सुवेदीका अनुसार उक्त कविता वाचन कार्यक्रमको पहिलो चरणमा भदौ २२ गतेसम्ममा कविताहरु विद्यालयको इमेलमा पठाइसक्नुपर्ने छ ।

Advertisement


कविताहरुलाई मूल्याकंनका आधारमा छनोट सूचीमा परेका कवितालाई मात्र प्रतियोगितामा सामेल गराइने सुवेदीले बताए । प्रतियोगितात्मक कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्य र व्यवस्थापनमा हुने छ । कविता कुशेऔंसी (बाबुको मुख हेर्ने दिन) को सन्दर्भमा बाबुको गरिमा र महत्व जोडेर कविता रचना गर्नुपर्ने र प्रस्तुत गर्नुपर्ने प्रतियोगितात्मक कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुलाई क्रमशः ८, ६, ४ र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।


कास्कीभित्रका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुन सक्ने उक्त कार्यक्रममा एउटा विद्यालयबाट १ जना छात्र र १ जना छात्रा गरी २ जनाले भाग लिन सक्ने छन् । छनोट सूचीमा परेका कविताको संग्रहसमेत प्रकाशन गरिने जानकारी पनि संयोजक सुवेदीले दिए ।


कार्यक्रमको परिकल्पना एवम् कार्यक्रमको समग्र संयोजन तथा व्यवस्थापकीय भूमिकामा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख नारायण न्यौपाने छन् । गद्य वा पद्य कुनै पनि शैलीमा बढीमा २०० शब्दभित्रमा मौलिक कविता हुनुपर्ने र २२ गतेभित्रमा प्रतियोगीहरुले कविता पठाइसक्नुपर्ने जानकारी ज्ञानेश्वर सुवेदीले दिए ।


रजत जयन्तीकै अवसर पारी यही भदौ १४ र १५ गते विद्यालयले फुटसल प्रतियोगिता आयोजना गरेको जानकारी अनुशासन प्रमुख राजकुमार सिंहले दिए । रजत जयन्तीकै अवसरमा यस वर्ष विभिन्न सामाजिक, शैक्षिक, चेतनामूलक एवं सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जानकारी स्कुलका प्रधानाध्यापक फणीन्द्रप्रसाद अधिकारीले दिए ।

Advertisement

तपाईको प्रतिक्रिया