अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुला

समाधान संवाददाता २०८० असोज ११ गते १५:३४

पोखरा ।
राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको आवेदन खुलेको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोले राष्ट्रिय विज्ञान दिवस असोज १, विश्व अन्तरिक्ष सप्ताह अक्टोबर ४–१० तथा विश्व विज्ञान दिवस कार्तिक २४ को सन्दर्भमा सञ्चालन गर्दै आएको यस प्रतियोगितामा असोज २८ गते आवेदन दिन सकिने जनाइएको छ ।

Advertisement


प्रतियोगितामा सहभागी हुन इच्छुक ६ कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीले नासोको वेबसाइटमार्फत आफ्नो आवेदन दर्ता गर्न सक्ने अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।


एघारौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह–आयोजनामा सञ्चालित यो वर्षको प्रतियोगिताको शीर्षक ‘अन्तरिक्ष र उद्यमशीलता’ छ ।


यसैगरी, सातौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा ६–८ कक्षासम्म अध्ययनरत विद्यार्थी भाइबहिनीले आवेदन दिन सक्ने जनाइएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने तथा दोस्रो, तेस्रो हुनेले आकर्षक गिफ्ट ह्याम्पर, पदकसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।


यसैगरी, ९ कक्षादेखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने पाँचौं राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा विजेतालाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगदका साथै पदक र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने संस्थाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया