पोखरा पब्लिक स्कुलमा ‘हाइड्रोलिक ब्रिज’ देखि ‘पोखरा विमानस्थल’

पोखरा ।
पोखरा पब्लिक स्कुलका विद्यार्थीले संसारमै चर्चित ‘लन्डन ब्रिज’लाई नक्कल गरेर हाइड्रोलिङ ब्रिज बनाएका छन् । नदीमाथि बनेको पुललाई आवश्यकता अनुसार छुट्याउन र जोड्न सकिने लन्डन पुल विश्वमा प्रसिद्ध छ । सोही पुललाई नक्कल गरेर पोखरा पब्लिक स्कुलमा अध्ययनरत विमोद गुरुङ र सौराग्य न्यौपानेले एक हप्ताको अथक प्रयासपछि ‘हाइड्रोलिक ब्रिज’ सँगै ‘मोटरेबल बोट’ बनाएका हुन् । उनीहरुले हाइड्रोलिक ब्रिजसँग नदीमा चल्ने मोटरेबल बोट समेत बनाएर विद्यालयमा प्रदर्शन गरेका छन् ।
विद्यालय स्थापनाको २९ औँ वार्षिकोत्सवको अवसरमा ५ देखि १० कक्षा सम्मका विद्यार्थीहरुले आफ्नै सीप र कौशलता प्रयोग गरे यस्ता वस्तुहरु प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले विज्ञान, गणित, सामाजिक, कम्प्युटर, नेपाली लगायत विषयअन्तर्गत रहेर शैक्षिक सामग्रीहरू प्रदर्शनीमा छन् ।
विद्यालयका अनमिका बडायक र अरुना चोचंगेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नमुना बनाएका छन् । दुरुस्त बनाउन सिपालु दुवैजना यसअघि अभिभावकसँग विमानस्थल पुगेका थिए । त्यहाँ पुगेर अवलोकन गरेका उनीहरुले विमानस्थलको लेआउट दुरुस्तै बनाएका हुन् । त्यसका लागि उनीहरुलाई विद्यालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । ‘विद्यालयबाट शिक्षकहरुले नै आवश्यक सामाग्री उपलब्ध गराइदिनुभएको हो । दिनको एउटा कक्षा छुट्याएर ३ हप्तामा हामीहरुले पोखरा विमानस्थलको कपी गर्यौं,’ अनमिकाले भनिन् ।
प्रदर्शनीमा यस्ता सामग्रीहरुलाई आकर्षक ढंगले सजावट गरिएको छ । प्रदर्शनीमा पुगेर सोमबार अभिभावकले प्रदर्शनी नियालेका छन् । विद्यार्थीहरुले नै ती सामग्रीका बनाएपछि अभिभावक समेत उत्साहित बनेका थिए । प्रदर्शनीको अवलोकन गर्न सो विद्यालयका विद्यार्थी र तीनका अभिभावकका अलावा पोखराका विभिन्न विद्यालयका विद्यार्थीसमेत पुगेका थिए ।
विद्यालयले वार्षिकोत्सवको अवसरमा मंगलबार र बधबार गरी २ दिनसम्म प्रदर्शनी चल्ने छ । मंगलबार विद्यालयको वार्षिकोत्सव भएको विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसी बताए । उनले शैक्षिक प्रदर्शनीले विद्यार्थीलाई पढेका कुरा व्यवहारमा उतार्न वार्षिक उत्सवसँग प्रदर्शनी गरिएको जानकारी दिए । प्रदर्शनीको पृथ्वीनारायण बहुमुखी क्याम्पसका प्राध्यापक विश्वराज अधिकारीले मंगलबार उदघाटन गरेका छन् । उनले विद्यार्थीले गरेको मेहनतको तारिफ गरे । यस्तो प्रदर्शनीले विद्यार्थीको क्षमता विकास गराउने उनको भनाइ छ ।
वार्षिकोत्सव तथा अभिभावक दिवस अन्तर्गत बुधबार २०७९ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याएका १ जना विद्यार्थीलाई २५ हजार रुपैयाँ नगद र चाँदीको पदकले सम्मान गर्ने कार्यक्रम छ । कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू, उत्कृष्ट शिक्षक र अनुशासन, सहकार्य आदिमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिने प्राचार्यले केसीले जानकारी दिए । २९ वर्ष अगाडि स्थापना भएको यो विद्यालयमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ ।
१ हजार १ सय ३२ जना विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा ५५ जना शिक्षक र २५ जना कर्मचारी गरेर ८० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् ।
तपाईको प्रतिक्रिया