जापानी विश्वविद्यालयसँग पश्चिमाञ्चल माविको सहकार्य

पोखरा ।
पोखराको वायुमण्डलमा रहेको कार्बन डाइअक्साइड मापन गर्न जापान सरकारको सहयोगमा विद्यालय स्तरमा अध्ययनका लागि सम्झौता भएको छ । जापान सरकारको शिक्षा मन्त्रालयमार्फत त्यहाँको नागोया साङग्यो विश्वविद्यालयले नेपालका विभिन्न सहरको वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडको अवस्थाबारे अध्ययन थालेको हो ।
विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धी साक्षरता फैलाउने र वायुमण्डलको कार्बन डाईअक्साइडको मापन गर्न सहकार्य गर्नेगरी गैहपाटनस्थित पश्चिमाञ्चल मावि र जापानी विश्वविद्यालयबीच सम्झौता भएको छ । पोखरा, काठमाडौं, बुटवल लगायतका सहरका विभिन्न विद्यालयमार्फत ती ठाउँको वायुमण्डलमा रहेको कार्बन डाइअक्साइड मापन गर्ने र विद्यार्थीमार्फत सचेतना फैलाउने कार्यक्रम सुरु भएको हो ।
त्यससँगै विद्यालयका विद्यार्थीमार्फत वातावरणसम्बन्धि साक्षरता फैलाउने काम पनि गरिने विश्वविद्यालयले बताएको छ । विश्वविद्यालयका तर्फबाट प्राध्यापक मासाकाजु इथो र पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । पोखरा क्षेत्रमा पश्चिमाञ्चल माविमार्फत पोखराका विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम र वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको मोनिटरिङ पनि गरिने प्राचार्य कोइरालाले बताए ।
नेपालमा पहिलो पटक विद्यालयस्तरमा गरिने यो अध्ययनले त्यस क्षेत्रको वायुमण्डलमा रहेको कार्बन डाइअक्साईडको अवस्था थाहा हुने उनले बताए । जलवायु परिवर्तनको असर नेपालमा कत्तिको परेको छ र वायु मण्डलमा रहेको कार्बन डाईअक्साइडको अवस्था कस्तो छ भन्ने बुझ्न पनि अध्ययनले सघाउने विश्वविद्यालयका प्राध्यापक इथोले बताए । पोखरामा पश्चिमाञ्चल मावि, अमरसिंह नमूना मावि र लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा यो अध्ययन गरिने उनले बताए । त्यसको अगुवाई पश्चिमाञ्चल माविले गर्ने छ ।
अध्ययनका क्रममा बायुमण्डलको कार्बन डाइअक्साइड मापन गर्नेगरी विद्यालयमा डिभाइस पनि राखिनेछ । त्यो डिभाइसले १० किलोमिटरभित्रको वायुमण्डलको कार्बन डाइअक्साइड मापन गर्ने उनले बताए । ‘वायु मण्डलमा रहेको कार्बन डाईअक्साइडबारे विद्यार्थीलाइ बेला बेलामा जानकारी गराउन पाइनेछ । त्यसबाहेक बोट विरुवाको नजिक डिभाइस राख्दा आउने परिवर्तन पनि बुझाउन सकिनेछ,’ उनले भने, ‘विद्यालय परिसरमा बोटविरुवाको भूमिकाबारे पनि विद्यार्थीले बुझ्नेछन् भने यसले उनीहरुमा वातावरण संरक्षण सम्बन्धि सचेतना पनि बढाउनेछ ।’
यसले पोखराको वायुमण्डलमा रहेको कार्बन डाइ अक्साइडको अवस्थाबारे पनि थाहा हुने उनले बताए । प्राध्यापक इथोका अनुसार जापान सरकारले यो कार्यक्रम नेपालबाहेक अन्य मुलुकका पनि लागू गरेको छ । यो कार्यक्रम जापनासँगै भियतनाम, ताइवान र इन्डोनेसियामा यसअघि नै लागू भएको छ । नेपालमा पोखरा, काठमाडौं, बुटवल र बर्दियाका विद्यालयमार्फत कार्यक्रम गरिनेछ । वायुमण्डलमा रहेको कार्बन डाईअक्साइडको परिवर्तनबारे पनि बुझाउन सकिने उनले बताए ।
नेपालका ठाउँ ठाउँमा गरिएको अध्ययनले भविष्यमा वायुमण्डलमा रहेको कार्बन डाइअक्साइडबारे विश्वलाई बुुझाउन सकिने पनि उनले बताए । पश्चिमाञ्चल माविका प्राचार्य कोइरालाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे बुझाउन आवश्यक रहेको बताए । ‘जलवायु परिवर्तनले पारेको असरबारे अहिले समुदायम स्तरमा खासै वास्ता छैन । बालबालिका मार्फत अभिभावकसामु सचेतना फैलाउन सकेमात्र यो समस्यासँग जुध्न सकिन्छ,’ उनले भने, ‘यो अध्ययनले नेपाल सरकारलाई पनि सजग गराएर जलवायु परिवर्तनको असरबारे बुझाउनका लागि कार्यक्रम गर्न झक्झकाउनेछ ।’
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथा ओझाले पछिल्लो समय जलवायु परिवर्तनको असरबारे समुदाय बेखबर रहेकाले बालबालिकामार्फत अभिभावकलाई सजग गराउनुपर्ने बताए ।
तपाईको प्रतिक्रिया