विद्यार्थीलाई स्टेसनरी र न्यानो कपडा

समाधान संवाददाता २०८० पुष १९ गते १२:५८

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले ५ औं स्थापना दिवसको अवसरमा बुधबार विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा (ट्रयाक सुट) वितरण गरेको छ । पोखरा महानगरपालिका १८ लामागाउँमा रहेको सिर्जना आधारभूत विद्यालयका विद्यार्थीलाई ती सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष यमनाथ पौडेलले जानकारी दिए ।

Advertisement


गण्डकी प्रदेश सभाका सदस्य गणेशमान गुरुङले विषम परिस्थिति र आर्थिक तरलताको अवस्थामा समेत उद्योगी व्यवसायीले सामाजिक कामलाई निरन्तरता दिएको बताए । ‘विषम परिस्थिति र आर्थिक तरलताको कारण सबै क्षेत्रमा निराशा छाएको छ । बैंक ब्याजदरको समस्या छ,’ उनले भने, ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड १९ को प्रकोपको मार खेपेको भएता पनि संस्थाले सामाजिक कामलाई जीवन्त राखेको छ ।’


उनले अहिलेको राजनीतिक संक्रमणकालको अन्त्य भएर अर्थतन्त्र चलायमान हुने आशा र भरोसामा निजी क्षेत्रले काम गरेको चर्चा गरे । उनले दुख, कष्ट गरेर व्यवसायलाई टिकाउन निजी क्षेत्रलाई आग्रह गरे । गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले ३ तहको सरकारसँगको समन्वय र सहकार्यमा नीति निर्माण र निजी क्षेत्रको व्यवसाय प्रवद्र्धनको काम गर्न सुझाव दिए ।


उनले सरोकारवाला सबैको सहकार्यमा विषम परिस्थितिमा रहेको व्यवसायलाई उकास्न पर्ने बताए । उनले पोखरा चेम्बर प्रदेशको प्रतिविम्बको रुपमा रहेको दाबी गरे । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष पौडेलले निजी क्षेत्रको हक हितको अलवा संस्थागत सामाजिक उत्तरदायित्वको काम गरेको जानकारी दिए ।


उनले सबै तहका उद्योगी, व्यवसायीलाई समेट्दै संस्थागत संरचनालाई विस्तार गर्दै पोखराको महानगरपालिकाको वडा तहमा चेम्बर बनाएको बताए । कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष उमराज बास्तोलाले नेपालको निजी क्षेत्रको जेठो संस्था चेम्बरले २०७५ सालदेखि पोखरामा हरेक क्षेत्रका उद्योगी व्यवसायीलाई समेट्ने गरी विधान निर्माण गरेर काम गरेको बताए ।

Advertisement


चेम्बरका महासचिव विष्णुप्रसाद बास्तोलाले आधारभूत तहमा संरचना बनाएर उद्योग, व्यवसायको प्रवद्र्धनमा काम गर्ने उल्लेख गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश गिरी, प्रधानाध्यापक अनिता सुवेदीले आधारभूत तहको विद्यालयमा राज्यको ध्यान नपुगेको अवस्थामा चेम्बरको सहयोगले राहत महसुस गरेको चर्चा गरे ।

तपाईको प्रतिक्रिया