भारतीय विश्वविद्यालयसँग पोखरा विश्वविद्यालयको सहकार्य

पोखरा ।
पोखरा विश्वविद्यालय र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबिच एकापसमा शैक्षिक एवं अनुसन्धान सम्बन्ध स्थापित गर्ने मूल उद्देश्यका साथ बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, ढुंगेपाटन, कास्कीमा आयोजित कार्यक्रममा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा प्रेमनारायण अर्याल र दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय, गोरखपुर, उत्तरप्रदेश, भारतका उपकुलपति प्रा पुनम टन्डनले हस्ताक्षर गरेका हुन् ।
समझदारीसँगै दुबै संस्थालाई शैक्षिक र अनुसन्धान सम्बन्ध स्थापित गर्नुका साथै संयुक्त अनुसन्धान तथा सम्मेलन लगायत अन्य शैक्षिक सहकार्यको दिशामा अगाडि बढ्न बाटो खुलेको छ । समझादारीपछि दुई विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीबीच शैक्षिक, व्यावसायिक र सांस्कृतिक गतिविधिलाई सहयोग गरी अन्तर्राष्ट्रिय सम्झौता, बौद्धिक सहयोग, सांस्कृतिक अन्तरक्रिया र मित्रता प्रवद्र्धन गर्न सहयोग पुग्ने जनाइएको छ । साथै, कुनै पनि कार्यक्रम दुवैतर्फ बाञ्छनीय र सम्भाव्य महसुस भएमा एकापसमा प्रस्ताव गरी दुवै पक्षले आयोजना गर्न सक्ने छन् ।
कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, दिनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयका उपकुलपति प्रा पुनम टन्डन र अन्तर्राष्ट्रिय सेलका निर्देशक डा रामवन्त गुप्ता एवं पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा उमेशसिंह यादवले आ–आफ्नो संस्थाको परिचयसहित शैक्षिक एवं अनुसन्धान क्रियाकलापलाई कसरी प्रगाढ र सुदृढ गर्न सकिन्छ भन्ने विषयमा धारणा राखे ।
तपाईको प्रतिक्रिया