जनप्रकाश माविलाई मेगा विद्यालय बनाउने योजना

लेखनाथ ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २९ मा रहेको जनप्रकाश माविलाई गण्डकी प्रदेशको मेगा विद्यालय बनाउने गुरुयोजना तयार भएको छ ।
गण्डकी प्रदेशभित्र ३ वटा विद्यालयलाई मेगा विद्यालय बनाउने प्रदेश सरकारको योजना मुताविक जनप्रकाश मावि छनोटमा परेर गत आर्थिक वर्ष २०७९/८० देखि बजेट विनोयजित भई काम सुरु भएको हो ।
विद्यालयको शुक्रवार सम्पन्न भएको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रममा प्रदेश सरकारबाट स्वीकृत भएको योजनालाई सवैको साथ र सहयोगले सफल पार्नुपर्ने उद्घोष गरिएको हो ।
मेगा विद्यालयको रुपमा विकास गराउन चालु आर्थिक वर्षदेखि नै क्रमागत रुपमा काम सुरु गर्न ३६ करोड रुपैयाँ बराबरको डिपिआर तयार भएको छ । मेगा विद्यालय बनाउन भौतिक संरचना, खेल मैदान, लाइव्रेरी, प्रयोगशालादेखि विद्यार्थीको संख्या २ हजार पु¥याउनुपर्ने र २ सय विद्यार्थीहरुका लागि सुविधा सम्पन्न आवासीय भवन निर्माण गर्नुपर्ने योजनामा छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले हाम्रो मौलिक संस्कृति गराउँदै जाँदा त्यसको प्रभाव शिक्षा क्षेत्रमा पनि परेकाले विद्यार्थीहरुलाई नेपाली संस्कृतिका बारेमा जानकार गराउन शिक्षकहरुले केवल तलबका लागिमात्र नभई सामाजिक भावले आदर्शपात्रको रुपमा पठन पाठनलाई अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले विद्यार्थीमा सिक्ने जुन उमंग हुन्छ त्यो उमंगलाई अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन पक्षले सफलतापूर्वक सम्पन्न गर्न वडाले आवश्यक नीति तथा नियम बनाएर सहकार्यको माध्यमबाट अगाडि बढ्न सकिने धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक शेखरनाथ शर्माले विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा जानकारी गराएका थिए । विविध सांस्कृतिक कार्यक्रम गत शौक्षिक सत्रमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा विद्यालय संस्थापक सदस्य भोजराज भण्डारी, पर्व व्यवस्थापन समितिका अध्यक्ष किसानसिंह गुरुङ, अभिभावक राधिका भुजेल लगायतले विद्यालयका शौक्षिक विकासका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष कमल पुलामीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन अंग्रेजी मावि संयोजक शालिक सुवेदीले गरेका थिए । सोही अवसरमा विभिन्न अक्षयकोष दाताबाट स्थापित छात्रावृत्ति वितरण गरिएको थियो । यस वर्षका उत्कृष्ट शिक्षहरु सावित्री भण्डारी, अञ्जली गुरुङ, फमिता गुरुङ, कर्मचारी रामु बास्तोला र निवृत्त शिक्षक बासबहादुर नेपालीलाई सम्मान गरिएको थियो । विद्यालयमा सबै तह गरी १ हजार २ सय विद्यार्थी छन् । शिक्षक र कर्मचारी गरी ५१ जना कार्यरत छन् ।
तपाईको प्रतिक्रिया