गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस्ः सभापति देउवा

पोखरा ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नगरी जित्ने पार्टी बनाउन कास्की कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । मंगलबार जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले नेताहरुलाई आगामी निर्वाचनमा गठबन्धन नगरी बहुमत ल्याउने पार्टी बनाउन निर्देशन दिएका हुन् ।
उनले पार्टीमा विवाद बढ्दै गएकाले मिलेर अगाडि बढ्नुपर्ने पनि बताएका छन् । ‘यही संविधानले कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस्, आन्तरिक कलह गर्ने होइन । सबैभन्दा ठूला जनता हो, जनताभन्दा ठूलो कोही पनि छैन । जनतामा जानुस्, भेटघाट गर्नुस्,’ देउवाले नेताहरुलाई निर्देशन दिए ।
सभापति देउवाले कसैलाई विरोध गरेर कोही ठूलो हुने पनि बताए । पछिल्लो समय कांग्रेस भातृ संस्थाको चुनावमा हार्दै गएकोप्रति देउवाको चित्ता थियो । ‘सहकारी गिरिजाप्रसाद कोइरालाले सुरु गर्नुभएको हो तर, अहिले सहकारी संघमा एमाले ठूलो भइसक्यो,’ उनले भने, ‘सहकारीलाई आफ्नो पक्षमा ल्याउनुपर्छ । अब महासमिति बन्छ, महाधिवेशन आउँछ सबैले अवसर पाइहाल्छ मिलेर अगाडि बढ्नुस् ।’
आउँदा दिनमा आन्तरिक तिक्तता ल्याग्नुपर्ने देउवाको भनाइ थियो । ‘सबैले राष्ट्रलाई अगाडि बढाउनुपर्छ । पार्टी दोस्रो कुरा हो, राष्ट्र पहिलो हो । नेपाली कांग्रेस बलियो भयो भने राष्ट्र बलियो हुन्छ । कांग्रेस बलियो बनाउने कुरा पोखराबाट सुरु होस्,’ देउवाले भने । यसका लागि पार्टी कस्तो बनाउने छलफल सुरु गर्न पनि उनको आह्वान थियो । ‘मासबेसको पार्टी हो कांग्रेस । हाम्रो सदस्य दुई किसिमको छ—साधारण र क्रियाशील सदस्य । यसलाई अब विचार गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने ।
कास्की महत्वपूर्ण ठाउँ भएकाले सबै नेता जनताको घरघरमा जानुपर्ने देउवाको भनाइ थियो । ‘पोखराको भविष्य पनि राम्रो छ । तलाउ बचाउनुपर्छ । फेवाताल पनि बचाउनुपर्छ । अझ सुन्दर बनाउनुपर्छ । भैरव, र पोखरा अन्तर्राष्ट्रिय उडान हुन सक्दैन यहाँबाट आन्तरिक उडानलाई नै जोड दिनुपर्छ,’ उनले भने, ‘नेपाल समावेशितामा गएको, यसलाई सबैको देश बनाउनुपर्छ । सबैको सहभागिता आवश्यक छ । संविधानमा समावेशी र समावेशी बनेको छ ।’
उनले भारतमा बल्ल महिलाहरुलाई समावेशितामा ल्याउन थालिए पनि नेपालमा निर्वाचनमा अनिवार्य बनाएर अगाडि बढाइएको बताए । ‘स्थानीय निर्वाचनको चुनावमा पालिका अध्यक्ष, उपाध्यक्ष जुनमा भएपनि एउटा पदमा महिला हुनुपर्ने संविधानमै व्यवस्था गरेका छौं । यस्तो संसारमा कुनै पनि देशमा छैन,’ देउवाले भने ।
तपाईको प्रतिक्रिया