गण्डकीमा एक जना बाहेक सबैले गरे मतदान

समाधान संवाददाता २०८० माघ ११ गते १६:२३

कास्की ।

Advertisement

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गरेका छन् । मेयर नेपाली बागलुङ पोखराको इमेज सहकारी ठगी प्रकरणमा उजुरी परेपछि ५ जेठदेखि फरार छन् ।

निर्वाचन कार्यालय गण्डकीका अनुसार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका छन् । गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ ।

एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपांगतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ ।

अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

Advertisement

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशबाट तीन पदका लागि प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुस २३ गते आठ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

आसन्न राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्यहरु र प्रदेशका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उक्त निर्वाचनको मतदाता हुनेछन् । प्रदेशमा कुल मतभार ६ हजार ४ सय १० छ ।

गण्डकीमा स्थानीय तहबाट १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ६० सदस्य गरी २३० जना मतदाता छन् ।

तपाईको प्रतिक्रिया