२ विधेयक प्रदेशसभा दर्ता हुने

पोखरा ।
बागलुङको ऐतिहासिक एवं धार्मिक स्थल पञ्चकोटमा पुगेर गण्डकी प्रदेश सरकारले ८ वटा निर्णय गरेको छ । बैठकले प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८० लाई प्रदेशसभामा पेस गर्न स्वीकृत दिने निर्णयसमेत भएको छ ।
पहिलो पटक जिल्लाबाहिर भएको गण्डकी सरकारको मन्त्रिपरिषद् बैठकले गोरखाको नासो गाउँपालिकाको सीमाना हेरफेर गर्न केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । क्यान्सर र ब्रेन ट्युमर भएका ७० जना छनोट गरी आर्थिक सहयोग गर्ने निर्णयसमेत भएको ऊर्जा तथा जलस्रोत मन्त्रीसमेत रहेकी अर्यालले जानकारी दिइन् ।
प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिनेसमेत मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव विदेन्द्रबहादुर हमाललाई पुरस्कार सिफारिस समितिमा नियुक्त गर्दै समितिलाई पूर्णता दिइएको हो ।
उनले समपूरक तथा विशेष अनुदान अन्तर्गत आयोजना/कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने निर्णय भएको पनि जानकारी दिइन् । प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० र गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।
प्रदेश सकारले फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय हुने महायज्ञमा आवश्यक सहयोग र सहभागिताका लागि सबैलाई अनुरोधसमेत छ । पहिलो पटक जिल्लाबाहिर बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडा भने अनुपस्थित थिइन् ।
तपाईको प्रतिक्रिया