स्टार्स समर क्याम्प सम्पन्न

पोखरा ।
स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको आयोजनामा भएको स्टार्स समर क्याम्प २०८० बुधवार सकिएको छ । गत चैत १९ गतेदेखि सुरु भएको कार्यक्रममा देश तथा विदेशका करिव ३५ भन्दा बढी बालबालिका सहभागी भएको आयोजकले बताएको छ ।
परीक्षा पश्चात फुर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । कार्यक्रममा योगा,नाटक, पब्लिक स्पिकिङ,फेस पेन्टिङ, गायन, नृत्य, सँगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ, चित्रकला लगायत ४५ भन्दा बढी गतिविधिहरू समावेश गरिएको उनले जानकारी दिइन् । कार्यक्रमले बालबालिकालाई व्यक्तित्व विकास, सिर्जनात्मक सिकाई, मानसिक स्वास्थ्य, सामाजिक पाटोबारे बुझ्न सहयोग पुर्याएको गुरुङको भनाइ छ ।
एलिजावेथ रोबले कार्यक्रममा सहभागि हुन पाउँदा आफू ज्यादै खुसी भएको र कार्यक्रमले बालबालिकालाई फाइदा पुग्ने तर्क गरिन् । कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएर स्टार्स समर क्याम्प च्याम्पको उपाधी सुहना गुरुङले जितिन् ।
आयोजकले आवास, यातायात, खानाखाजा, स्वास्थ्यकर्मी तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाएको छ ।
कोभिडले आक्रान्त पारेको बेला समर क्याम्पको खाका कोरेको संयोजक गुरुङले बताइन् । ‘कोभिडले घरमा थुनिँदा बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा निकै असर गरेको देखेँ। यो कार्यक्रम आयोजना गर्न पाए निकै राम्रो हुन्छ जस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यति मात्र हैन अहिलेको बालबालिका कोठामा एक्लै घन्टौँसम्म मोबाइल चलाएर बस्छन्। उनीहरूलाई ग्याजेट एडिक्सनबाट छुटाउनु पनि कार्यक्रमको उदेश्य थियो ।’
कार्यक्रम निकै प्रभावकारी भएको हुनाले वार्षिक रूपमा गर्दै आइरहेको कार्यक्रम वर्षमा दुई पटक गर्ने योजना रहेको उनले सुनाइन् ।
तपाईको प्रतिक्रिया