
ढोरपाटन ।
बागलुङ नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो ।
पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको संख्या निकै कम छ । यस शैक्षिक सत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह मिलान तथा स्थगनपछि समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी यसै वर्षदेखि ३ विद्यालयलाई आवासीय बनाइने भएको छ ।
देशैभरमा सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाका रूरुपमा रहेको बागलुङ नगरपालिकाले अघिल्लो वर्ष वडा नं १२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नं १३ स्थित लक्ष्मीनारायण पाठशाला स्थगन भएका थिए । यस वर्ष वडा नं ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालयलाई स्थगन गरिएको हो ।
स्थगनपछि विद्यालय टाढा पर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिनेगरी काम अगाडि बढाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । पहिलो चरणमा भौगोलिक, सामाजिक, आर्थिक कारणले विद्यालयको पहुँचमा पुग्न समस्या भएका बालबालिकाका लागि आवासीय सुविधा दिने उनको भनाइ छ ।
यसपालि ३३ को तह मिलान र २ स्थगन गरी ३ आवासीय स्कुल चलाउने तयारी
नगर उपप्रमुख खड्काका अनुसार बागलुङ ७ स्थित विश्वकर्मा माध्यमिक विद्यालय, वडा नं ११ को महाविद्याजन माध्यमिक विद्यालय रायडाँडा र वडा नं १२ को पृथ्वीहिणन्य माध्यमिक विद्यालयलाई आवासीय रूपमा सञ्चालन गरिनेछ । विद्यालयमा विद्यार्थी संख्या थोरै हुँदा शिक्षण क्रियाकलाप प्रभावकारी नहुने र बढी खर्च हुने हुँदा विद्यालयको तह मिलान तथा स्थगन गरेको हो ।
तह मिलानपछि शैक्षिक गुणस्तरसमेत वृद्धि हुने अपेक्षा गरिएको छ । ‘नगरपालिकामा झण्डै सय हाराहारीमा विद्यालय छन्, ती विद्यालयमा विद्यार्थी निकै कम भएको हुँदा यस वर्ष हामीहरूले धेरै विद्यालयको तह मिलान गरेका छौँ, पोहोर र यस वर्ष गरी चार विद्यालय स्थगन नै गरिसकेका छौं’, खड्काले भने, ‘सुरुआती चरणमा तीन विद्यालयमा आवासीय सुविधा दिनेगरी सञ्चालनको तयारी छ, पछि आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि आवासीय सुविधा थप्ने योजना छ ।’
शिक्षा अनुगमन समितिले नगरपालिकाभित्रका ४८ विद्यालय अध्ययन गरी आवश्यकता र समस्याको पहिचान गरी विद्यालयको स्थगन तथा तह मिलान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । तह मिलनपछि अब बाल विकास केन्द्र सञ्चालन हुने विद्यालयको संख्या आठ, बाल विकास केन्द्र र कक्षा १ मात्र सञ्चालन हुने विद्यालयको सङ्खंया ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक छन् ।
कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय संख्या पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय २ र चार विद्यालयमा कक्षा १ देखि ६ सम्म सञ्चालन हुने तथा विद्यालय स्थगन र तह मिलानपछि शिक्षकलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलान गरी व्यवस्थापन गरिनेछ ।
शिक्षा अनुगमन समितिले तय गरेको मापदण्ड अनुसार स्थगनपछि विद्यार्थी बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि २ लाख र प्रत्येक तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा २५ हजारका दरले रकम उपलब्ध गराउने पोखरेलले जनाए । बालबालिकाका लागि नेपाल सरकारले दिएको १५ दिवा खाजामा नगरपालिकाले ५ थप गरिदिने उनले उल्लेख गरे ।
विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रम जस्ता व्यावसायिक र प्राविधिक स्कुल निर्माण गर्ने उद्देश्य राखेको । यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उनी बताउँछन् । सो नगरपालिकामा ८२ सामुदायिक र २० संस्थागत विद्यालय सञ्चालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी छन्।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया