मदन—आश्रितकाे स्मृति दिवस मनाइयाे

पोखरा ।
नेकपा (एमाले)ले भोलि बिहीबार मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस मनाउँदैछ । दिवसको पूर्वसन्ध्यामा एमाले कास्कीले पोखरा १६ खोलाखेतस्थित मदन—आश्रित पार्क सरसफाईसँगै, शालिकमा माल्यार्पण र जनताकाे बहुदलिय जनवाद (जबज)को विशेषता वाचन गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सोमनाथ अधिकारी ‘प्यासी’ लगायतले मदन र जीवराजको शालिकमा माल्यार्पण गरे । मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जबजका १४ विशेषताबारे मुख्यमन्त्री अधिकारीले विवेचनात्मक व्याख्या गरेका थिए ।
मुख्यमन्त्री अधिकारीले भण्डारीको विचारलाई अनुसरण गर्नुपर्ने धारणा राखेका थिए । राजनीतिक दलहरु जबजकै सिद्धान्त अनुसार अघि बढेको बताउँदै अधिकारीले समाजवादको यात्रा तय गर्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउने नेतालाई सम्झना र सम्मान दिनुपर्ने बताए ।
भण्डारीको अवसान नेपाली राजनीतिकै लागि अपुरणीय क्षति पुगेको उनको भनाइ छ । कार्यक्रममा सोमनाथ अधिकारी, प्रदेशसभा सदस्य, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, पार्टीका केन्द्रदेखि वडा, टोल कमिटिका नेता, कार्यकर्ताहरु सहभागी थिए ।
कार्यक्रमको अध्यक्षता नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले गरेका थिए । नेकपा एमाले कास्कीका सचिव दर्शन लामाले बिहीबार पोखरामा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त प्रतिवादन गरे पछि भण्डारीलाई पुजिँवादी मुलुकका अमेरिकन मिडियाहरूले जीवित ‘कार्ल माक्र्स’ भनेर संसारभर चिनाउने प्रयास गरेका थिए । उनको सिद्धान्त पछि विश्वभरिका कम्युनिस्टहरू ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि लाग्नु पर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकहरूले दाबी गर्छन् ।
मदन–आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । जीप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको निधन भएको थियो भने चालक अमर लामा जीवित रहेका थिए । पछि २०६० सालमा लामाको हत्या भएको थियो । लामाको हत्या भएपछि घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।
तपाईको प्रतिक्रिया