‘त्यसपछि मदन बाबु फर्कनुभएन’
तुलसा पाण्डे जसले मदन, आश्रितलाई अन्तिमपटक खाना खुवाएकी थिइन्

पोखरा ।
‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन’ भन्ने मदनकुमार भण्डारीले ३१ वर्षअघि जेठ ३ गतेकै दिन जीवनयात्राबाटै अकस्मात विश्राम लिएका थिए । यो भनाइ उनले आफ्नै जीवनमा पनि चरितार्थ गरेका थिए । लेखन, वाककला, संगठन, क्रियाशीलता आदिमा नमुना उनी विचारमा प्रष्ट थिए, बहसलाई स्वीकार्थे । दासढुंगा दुर्घटना वा षड्यन्त्र नटुंगिएको त्रासदीबाट जीवन गुमाएका उनलाई हरेक वर्ष जेठमा सम्झने गरिएको छ ।
०४६ को जनआन्दोलनपछि बनेको नेकपा (एमाले) को महासचिव चुनिएका भण्डारी ०४८ सालमा भएको आमचुनावमा २ ठाउँबाट उम्मेदवार बनेका थिए । वहालवाला प्रधानमन्त्री एवं कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईलाई काठमाडौं क्षेत्र नम्बर १ बाट पराजित गरेपछि उनको चर्चा निकै चुलिएको थियो । त्यो निर्वाचनमा उनी २ ठाउँबाटै चुनिएका थिए, एमालेले ६९ स्थानमा विजय पाएको थियो ।
दासढुंगा दुर्घटनाको पृष्ठभूमि पोखरासँग जोडिन्छ । पोखरामा भएको एमाले कास्कीको अधिवेशनलाई सम्बोधन गर्न भण्डारी संगठन विभाग प्रमुख जीवराज आश्रितसहित १ गते साँझ पोखरा आइपुगेका थिए । सधैंझै उनीसहितको टोली उद्यमी हरिप्रसाद पाण्डेको घरमा बसेको थियो ।
हरिप्रसादकी पत्नी तुल्सा १ गते राति १२ बजेसम्म कुराकानी भएको सम्झिन्छिन् । ३ गते पोखराको कार्यक्रममा सहभागी भएर फर्किने बेला दिउँसोको ४ बज्न लागेको थियो । ‘मैले भोलि बिहान जानुस् भनेकी थिएँ,’ तुल्सा सम्झिन्छिन्, ‘भर्खर चाइनाबाट आएको छु, हिसाबकिताब पनि बुझाउनु छ भनेर जानुभयो । चितवनको कार्यक्रम सकेर गोर्खा जान्छु र त्यसपछि २ दिन बस्ने गरी पोखरा आउँछु भन्नुभएको थियो । त्यसपछि मदन बाबु फर्कनुभएन ।’
जाने नै भएपछि उनले खाजा बनाइदिएकी थिइन् । आश्रितलाई अल्सर भएकाले बाहिरको नखानू भनी सबैलाई पुग्ने गरी परौठा पठाएकी थिइन् । तुल्साले टीका लगाएर सबैलाई बिदा गर्न थालिन् । आफ्नो टीका लाउने पालो आउँदा भण्डारी जोडले हाँसेको उनी कहिल्यै बिर्सन्नन् । त्यो बेलाको कम्युनिस्ट पार्टीका सबैभन्दा ठूला नेतालाई टीका लगाइदिनु पनि अनौठो कुरा थियो ।
तुल्साले भनिन्, ‘किन हाँस्नु भयो मदन बाबू ?
‘भाउजू, हजुरको तरिका देखेर हाँसेको नि । आमाजस्तै सबै ख्याल गर्नुहुन्छ,’ मदनले भनेका थिए । केही दिनमा २ दिन बस्ने गरी आउने वाचा गरी गएका भण्डारी फेरि कहिल्यै फर्केनन् । चिप्लेढुंगामा रहेको पाण्डे परिवारको घरमा ३/४ वर्षअघिबाट मदनको आवतजावत थियो । मनमोहन, भरतमोहन, सिपी मैनाली, राधाकृष्ण मैनाली, केपी शर्मा ओली, माधव नेपालजस्ता धेरै एमाले नेता पाण्डेको घरमा जाने, खाने र बस्ने गर्थे ।
मदनको सरल बानी तुल्साले पनि अनुसरण गरेकी छन् । ‘मदन बाबु आफैं पानी सार्ने, मोही झिक्ने गर्नुहुन्थ्यो । त्यो बेला हाम्रोमा कुर्सी, टेबलको चलन थिएन, भुइँमै गुन्द्रीमा बसेर खाना खाइन्थ्यो,’ आश्रुमिश्रित नयनमा उनले सुनाइन् ।
नेता आश्रित उनकै जिल्लाका थिए । भूमिगत कालमा गाउँमा आश्रितलाई सेल्टर दिँदा तुल्साको चिनजानी थियो । त्यो बेला मदनले दही र साग थपीथपी खाएका थिए । अहिले पनि दही र साग भान्छामा हुँदा तुल्सालाई मदनको याद आउँछ ।
घर आएको दिनदेखि नै तुल्साले भण्डारीका चालक अमर लामाको गतिविधि अस्वाभाविक देखेकी थिइन्
घर आएको दिनदेखि नै तुल्साले भण्डारीका चालक अमर लामाको गतिविधि अस्वाभाविक देखेकी थिइन् । राति अमर लामा घरीघरी शौचालय गइरहन्थे । अनुहार मलिन थियो । भण्डारीको सानो ब्रिफकेससमेत राम्ररी नसमात्दा भुइँमा खसेको उनले याद गरेकी थिइन् । ३ गते बिहान लामा गाडी बिग्रिएको छ भनी घरबाट निस्किएका थिए ।
दिउँसो खाना खाने समयमा उनी खान भित्र आएका थिएनन् । तुल्सा भन्छिन्, ‘मदन आश्रितले खाना खाएको घरीघरी झ्यालबाट चिहाएको थियो । वाचस्पतिले चर्को स्वरले बोलाएपछि बल्ल आयो तर भात खाएन । दुई, तीन गाँस खाएर खेलाइरह्यो ।’
साँझतिर तुल्साको घरको टेलिफोन लगातार बज्न थाल्यो । सबै सोध्थे, ‘पाण्डे सर (हरिप्रसाद पाण्डे) कता हुनुहुन्छ ?’ श्रीमानसँग केही मिनेटअघि उनको कुरा भएको थियो, फेरि फोन गरिन्, औद्योगिक क्षेत्रमा रहेका श्रीमानको अवस्था ठीक थियो । त्यसको केही मिनेटमा हरिप्रसादले फोनमा तुल्सालाई डाँको छाडेर रुँदै भने, ‘मदन—आश्रितको गाडी त्रिशूलीमा खस्यो रे, उहाँहरु भेटिनुभएको छैन ।’
त्यो दिन पाण्डे परिवारको चुलो बलेन । बिहानकै खाना केटाकेटीले खाए । ६ छोराछोरीले बाँकी खाना के खाए होलान् र उनीहरु पनि भोकै परेको तुल्सा अहिले सम्झिन्छिन् । उनलाई मदन र आश्रितको सुनियोजित हत्या नै भएको हो भन्ने लागिरहन्छ । पछि उनीसँग सोधपुछ गर्न आएका छानबिन समितिका सदस्यलाई पनि उनले त्यसै भनेकी थिइन् ।
पोखराबाट आँबुखैरेनीसम्म एउटै जिपमा गएका ऋषि कट्टेल बाटोमा वैचारिक बहस गर्दै गएको बताउँछन् । जनताको बहुदलीय जनवादका विरोधी कट्टेलले पोखराबाट दमौलीसम्म जबज र दमौलीबाट गोरखामा पार्टी निर्माणबारे छलफल भएको उल्लेख गरे । यात्राका क्रममा चालक लामाको अस्वाभाविक गतिविधि केही देखिएको उनले पनि जनाए । उनी आश्रितलाई पुराना इमान्दार नेता र मदनलाई सिर्जनशील नेताका रुपमा सम्झन्छन् ।
‘भण्डारी सिर्जनशील नेता हुनुहुन्थ्यो, फरक विचार सुन्ने र बहस गर्ने क्षमता थियो । पदको लोभ थिएन,’ त्यस बेला एमाले गोरखा सचिव रहेका कट्टेलले भने, ‘आश्रित त पुष्पलालकै समितिका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पुराना र इमान्दार नेतामा पर्नुहुन्छ ।’ यद्यपि जबजले भने कम्युनिस्ट आन्दोलनलाई पुँजीवादी भासमा लगेको उनको टिप्पणी छ ।
त्यसबेला एमाले कास्की सचिव रहेका खगराज अधिकारी अहिले गण्डकी प्रदेशका मुख्यमन्त्री छन् । उनी राजनीतिक र सामाजिक जीवनका सबै पक्षमा भण्डारीको व्यक्तित्व अनुकरणीय रहेको सुनाउँछन् । ‘बन्दसत्र चल्दै गर्दा पाण्डेजी (हरिप्रसाद पाण्डे) आएर रुँदै मलाई जिप खसेको सुनाउनुभयो, हामी बन्दसत्र छोट्याएर खोजीमा लागेका थियौँ ।’
दासढुंगा काण्डका एकमात्र साक्षी अमर लामाको २०६० मा हत्या भयो । मदन–आश्रितको रहस्यमय ढंगले हत्या भएको विभिन्न आयोगहरूले निष्कर्ष निकालेका थिए । त्यसयता बारम्बार एमाले सरकारमा गएको छ, एमालेले सरकारको नेतृत्व गरेको छ । भण्डारी पत्नी विद्या अघिल्लो कार्यकाल राष्ट्रपति थिइन् । दासढुंगा काण्ड भने ३ दशक पुगिसक्दा पनि रहस्यमै छ ।
तपाईको प्रतिक्रिया