प्रतिभा स्कुलमा नमुना मतदान

पोखरा ।
बिहीवार बिहान १२ः १० बजेको थियो । विद्यालयका प्राचार्यले सम्पूर्ण मतदाताहरूलाई लाइनमा आउन आग्रह गरे । विद्यार्थीहरू सबै मतदाताको लाइनमा आए । एकातिर छात्राहरू र अर्कोतिर छात्रहरू मतदानका लागि लाइनमा बसे ।
आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थापन गरियो । मतपत्र, स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो ।
उक्त दृश्य पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले गरेको नमुना मतदान थियो । कक्षा १० को सामाजिक विषयमा भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो ।
‘सैद्धान्तिक ज्ञानले भन्दा प्रयोगात्मक तथा व्यवहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुने भएकाले त्यसतर्फ बढी जोड दिएका छौँ,’ भन्दै आफूहरूले यसरी लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यास कार्य गरेको विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले बताए ।
विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्वाचन प्रणाली अन्तर्गत मताधिकार भनेको के हो ? मतदान भनेको के हो ? मतदान कसरी गर्ने ? प्रजातान्त्रिक प्रक्रियाबाट जनप्रतिनिधिहरू कसरी निर्वाचित हुन्छन् ? भन्ने ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको विद्यालयका सहप्राचार्य, सामाजिक विषय शिक्षक तथा कार्यक्रमका निर्वाचन अधिकृत प्रदीप खनालले बताए ।
कक्षा ६ देखि कक्षा १० सम्ममा ८६४ जना विद्यार्थी मतदाता भएको कार्यक्रममा विभिन्न सदनका क्याप्टेन र भाइस क्याप्टेनका लागि २÷२ जना विद्यार्थीबिच प्रतिस्पर्धा थियो । निर्वाचनमा विद्यार्थीले लामबद्ध भएर दिउँसो १२ः१० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरेको नमुना निर्वाचन कार्यक्रमका व्यवस्थापक विद्यालयका सह–प्राचार्य बुद्धिमोहन पौडेलले बताए ।
‘हामीले किताबमा घोक्ने मात्रै हुन्थ्यो,’ विद्यार्थी शिक्षा पौडेलले भनिन्, ‘तर, हामीले अहिले प्रयोगात्मक नै गर्दा धेरै कुरा बुझिएको छ र व्यवहारमा उतार्न सजिलो भएको छ ।’
नमुना मतदानमा छात्रछात्राहरूका लागि छुट्टा छुट्टै लाइनमा राखी मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मतदिने लगायत विषयहरु सिकाइएको साथै मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको, विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्थासहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर मत माग्ने समयसमेत दिइएको मतदान अधिकृत डम्बर क्षेत्रीले बताए ।
विभिन्न सदन क्याप्टेन र भाइस क्याप्टेन पदका लागि विद्यार्थीहरूका बिच प्रतिस्पर्धा भएको र आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै रातो सदनका क्याप्टेनका लागि सुशान्त भुसाल ५२ मत र भाइस क्याप्टेनका लागि एन्जल कोइराला ५० मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धीमा क्रमशः हिमाङ्कन सापकोटाले ५१ र आदर्श क्षेत्रीले ३७ मत ल्याएका थिए ।
यसैगरी नीलो सदनका क्याप्टेनका लागि दीप क्षेत्रीले ७३ मत र भाइस क्याप्टेनका लागि सौरभी कार्कीले ७८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धीमा क्रमशः चाहना खड्काले ५३ र शिवम् रौनियारले ३७ मत ल्याएका थिए ।
हरियो सदनका क्याप्टेनका लागि सुमित खत्री १२० मत र भाइस क्याप्टेनका लागि निम्बुज अधिकारीले ४६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धीमा क्रमशः युनिक अर्यालले ३१ र प्रनय चालिसेले ३७ मत ल्याए ।
त्यसैगरी पँहेलो सदनका क्याप्टेनका लागि पीयूष नेपालीले १०६ मत र भाइस क्याप्टेनका लागि सन्ध्या पण्डितले ५९ मत प्राप्त गरी विजयी भएका । उनकानिकटतम् प्रतिस्पर्धीमा क्रमशः एभरग्रिनले ४७ र विवश थापाले ३७ मत ल्याएका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारी जानकारी थिए ।
तपाईको प्रतिक्रिया