पोखरा १४ मा रातिराति सेती नदी उत्खनन्

पोखरा ।
कोमात्सु कम्पनीको पिसी २१० नम्बरको डोजर (जेसिबी) चलिरहेको छ । ग १ क ४३२३, ग१क ४३२४ र ग१क ४३१७ नम्बरका टिपर सेती नदी वारपार गरिरहेका छन् । डोजर ढुंगागिट्टी र बालुवा खोतल्दै थुपार्छ र ती टिपरले ओर्साछन् । वडा नम्बर १४ तर्फबाट सेती नदी पार गरेर वडा नम्बर ३३ पुर्याएर ती टिपर पुन ५/१० मिनेटमै ‘खजाना’ लोड गर्न आइपुग्छन् । अनि..सुरु हुन्छ फेरि ती टिपरको दौडधुप ।
२०८० जेठ ५ गते । रातको १२ बजे । त्यस्तो दृश्य पोखरा १४ स्थित बाच्छेबुडुवा सेती घाटमा देखिन्छ । यो एक दिनको दृश्य थिएन । ५ गते शुक्रबारबारचाहिँ स्थानीय बासिन्दा सुटुक्क ती दृश्य नियाल्दै थिए । बाच्छेबुडुवा घाटमा प्रत्येक रात उत्खनन भइरहे पनि वडा नम्बर १४ र महानगरपालिका र प्रहरी प्रशासन मूकदर्शक बनिरहेको थियो । स्थानीयले पकटपटक सूचना दिएपनि पोखरा महानगरको नगर प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको मौनता रहिरह्यो । अनि स्थानीय आफै सुटुक्क अनुगमनमा पुगेका थिए ।
स्थानीयले अति चासो र चिन्ता जताएपछि शनिबार बिहान (राति) ३ बजे जिल्ला प्रहरी कार्यालय कास्कीको गाडी घटनास्थलमा पुग्यो । प्रहरी पुग्नु अघि नै उत्खननकारीले काम बन्द गरे ।
प्रहरीलाई सूचना दिनेबित्तिकै कसरी काम रोकियो र टिपरलाई तितरबितर बनाइएको अनुगमनमा पुगेका स्थानीयले सुनाए । बाच्छेबुडुवा पछिल्लो समय ‘पुष्करिणी परोपकार गोकुल धाम’ले चर्चित छ । जुन ठाउँमा अहिले नदीको अवैध उत्खनन् गर्नेहरुको रजाइ छ ।
‘नदी उत्खनन हुन थालेको १ वर्ष भयो । तर, निरन्तर प्रत्येक रात हुन थालेको २ महिना भयो,’ एक स्थानीयले भने, ‘दिनभर एक्स्काभेटर डाँडामा लगेर राखिन्छ । बेलुका रातको ९/१० बजेदेखि नदी उत्खननका लागि खोलामा पुग्छन् ।’ एक रातमा ७० देखि सय टिपर उत्खनन हुने गरेको ती स्थानीयको भनाइ छ ।
नदी उत्खननबारे वडा नम्बर १४ का वडाध्यक्ष बोधराज कार्कीलाई समेत जानकारी गराइएको थियो । नदीको अवैध उत्खनन् भइरहँदा पनि अहिलेसम्म कसैलाई कारबाही नहुनुले स्थानीयहरु उत्खननकारीको ठूलै ‘सेटिङ’ हुनसक्ने शंका गर्छन् । ‘वडाध्यक्षलाई बारम्बार विभिन्न व्यक्तिले पुगेर सूचना दिएका छन् । वडाध्यक्ष स्वयंलाई त्यहाँ उत्खनन भइरहेको जानकारी छ । तर, त्यो किन रोकिएको छैन । थाहा पाउन सकिएको छैन,’ ती स्थानीयले भने ।
जसलाई र जुन निकायलाई खबर गरे पनि वास्ता नभएपछि स्थानीयले गरे अनुगमन
खोलामा जेसिबी लगायत कुनै पनि मेसिनरी उपकरण प्रयोग गरेर उत्खनन गर्न पाँइदैन । महानगरपालिकाले विधिपूर्वक ठेक्का दिँदा पनि मेसिन प्रयोग गर्न नपाइने सर्त राख्छ । महानगरपालिकाको अनुमतिबिना उसको क्षेत्रभित्रका नदीमा उत्खनन् गर्न पाइन्न । पोखरा महानगरले बाच्छेबुडुवास्ति सेती नदीको घाट ठेक्का लगाएको पनि छैन ।
कसको मिलेमतोमा राति जेसिबी प्रयोग गरी उत्खनन भइरहेको छ छानबिन हुनुपर्ने स्थानीयहरुको माग छ । नियमअनुसार महानगरले घाट ठेक्का लगाउन नसक्दा बर्सेनि करोडौं राजस्व गुमिरहेको छ । केही महिनाअघि सभागृहमा भएको नगर सभामा मेयर धनराज आचार्यले घाट ठेक्का लगाउन ढिला हुनुको कर्मचारीको ढिलासुस्ती रहेको बताएका थिए ।
बाँच्छेबुडुवा घाटमा कसले उत्खनन ग¥यो ?
बर्खा लागिसकेकाले पोखरा महानगरपालिकाले यो समयमा नदीका घाटहरुको टेन्डर लगाउन आह्वान गरेको छैन । त्यसैले पोखराभित्र पर्ने नदीनालाका घाटहरुमा ढुंगाबालुवा निकाल्ने ठेक्का कसैलाई पनि परेको छैन । तर सेतीको पोखरा १४ बाच्छेबुडुवामा रातिराति उत्खनन गरी नदीजन्य पदार्थको चोरी भइरहेको छ । घाटबारे जानकारहरु नै यस्तो अवैध काममा संलग्न रहेको हुनुपर्ने स्थानीय शंका गर्छन् ।
सूचना कसरी चुहियो ?
जेठ ४ गते राति र ५ गते बिहान (राति) ३ बजेसम्म सेती नदी किनारामा उत्खनन भएको थाहा पाएपछि स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा खबर गरेका थिए । तर, प्रहरीलाई खबर गरेको ५/१० मिनेटमै नदीमा जेसिबी चल्न बन्द भयो । उत्खनन भइरहेको ठाउँदेखि जेसिबीमाथि आयो । बेलुका ९ बजेदेखि नदी उत्खनन गर्न सुरु गरेपछि बिहान ५ बजेसम्म त्यो समूहले उत्खनन गर्दै ओसारपसार गर्ने गरेको स्थानीय बताउँछन् ।
तर, त्यस दिन प्रहरीलाई खबर गर्नसाथ जेसिबी बन्द हुनुले सूचना चुहिएको स्थानीयले लख काटेका छन् । राति घाटमा पुग्दा प्रहरीले एक्स्काभेटर र टिपर नदी किनारामै भेटेको थियो । तर, कारबाही प्रक्रिया अघि नबढाएको स्थानीयले बताए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले अबदेखि दैनिक रेकी गर्ने जानकारी दिए ।
‘यसअघि प्रहरीलाई सूचना थिएन । शुक्रबार राति खबर हुनासाथ घटनास्थलमा पुगेर साथीहरुले निरीक्षण गर्नुभएको छ । अबदेखि दैनिक रेकी गर्छौं,’ एसपी थापाले भने । पोखरा महानगरपालिका प्रवक्ता मोतीलाल तिमिल्सिनाले महानगरको नगर प्रहरीको ध्यानाकर्षण गराएको बताए । ‘घाट ठेक्का लागेको पक्कै होइन । एक्स्काभेटर लगाएर अनि राति नदी दोहन गर्नु गलत हो । गैरकानुनी हो । महानगरको निरीक्षण शाखाको ध्यानाकर्षण गराएको छु,’ प्रवक्ता तिमिल्सिनाले भने ।
तपाईको प्रतिक्रिया