प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका जाँचबारे कार्यशाला

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद्,कास्कीले शनिबार प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालामा मावि तहमा डा बोधराज ढकाल र डा यामनाथ तिमिल्सिना, आधारभूत तह (६–८)मा डोलराज अर्याल र शिवहरि सुवेदी र आधारभूत तह (४–५)मा माधवशरण उपाध्याय र लोकचन्द्र खनालले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण सीपबारे सहजीकरण गरे ।
समारोहमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटाले भाषा जोगाउने दायित्व शिक्षकहरुको काँधमा रहेको जनाए । ‘नेपाली भाषामाथि चौतर्फी आक्रमण भएको अवस्थामा हामी संवेदनशील हुनुपर्छ । विद्यार्थीमा नेपाली भाषाप्रति मोह जोगाउन आवश्यक छ,’ उनले भने । कार्यालयले गर्नुपर्ने काम भाषा परिषद्ले गरेको भन्दै देवकोटाले धन्यवाद दिए ।
मदरल्यान्ड माविका प्रधानाध्यापक नारायण बरालले प्रश्नपत्रको निर्माण स्तरीय हुनुपर्ने र प्रश्नहरुले विद्यार्थीको स्तर र भाषाको ज्ञान बढाउन सघाउनुपर्नेमा जोड दिए । आयोजक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले नेपाली भाषा बचाउने मुख्य दायित्व नेपाली शिक्षकहरुकै रहेको औंल्याउँदै त्यस कार्यमा उच्च मनोबलका साथ लाग्न आग्रह गरे ।
संस्था महासचिव एवं कार्यक्रम संयोजक शिवहरि सुवेदीले विगतमा गरेका कार्यशालाका प्रभावकारिताको अनुभवका आधारमा शिक्षककै मागका आधारमा कार्यक्रम राखिएको जनाए । कार्यशालाका सहभागी रेन्बो एकेडेमी होम्स माविका नेपाली शिक्षकद्वय दुर्गा थापा र स्मिता खाँडले यस्ता कार्यशाला प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणलाई सहज बनाउने अपेक्षा सुनाए । प्रतिभा माविका शिक्षकद्वय अमृता गुरुङ र अमृता जिसीले कार्यशालाले शिक्षण र पेसाप्रति थप जिम्मेवार बनाएको उल्लेख गरे ।
करिब दुई सय ५० शिक्षकहरु सहभागी कार्यक्रममा नेपाल गणित समाज शिक्षा परिषद् गण्डकी प्रदेश अध्यक्ष डा.त्रिभुवन शर्मा, परिषद्का वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया