नेपालीमूलका पोखरेल अमेरिकी संसदको उमेदवार

न्युयोर्क ।
नेपालमा जन्मिएर अमेरिका पुगेका आशीष पोखरेल (एड्रियन) अमेरिकाको भर्जिनिया १० बाट त्हाँको संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
निर्वाचनको नियमअनुसार १ हजार जनाको हस्ताक्षर प्रमाणित गरेपछि उनी उम्मेदवार बनेका हुन् । कुनै पनि उम्मेदवारलाई यती संख्यामा हस्ताक्षर पु¥याउन ठूलो चुनौती हुन्छ । उनले उक्त चुनौती छोटो समयमै पार गरेर अहिले चुनावी प्रचार अभियान तीव्र बनाएका छन् ।
१४ वर्ष अमेरिकी सेनामा काम गरेका अमेरिकी सेनाका पूर्व कप्तान पोखरेलले विश्वकै शक्तिशाली गुप्तचर संस्था केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरिसकेका छन् ।
कुनै पनि नेपाली मुलका व्यक्तिले सिआइएमा काम गरेको यो पहिलो अवसर हो । उनको उम्मेदवारीलाई नेपालीहरुले मात्र होइन, भर्जिनिया १० मा रहेका धेरै अमेरिकीहरुले पनि सकारात्मक रुपमा हेरेका छन् ।
उनको उम्मेदवारीबाट नेपालीहरुलाई हेर्ने अमेरिकी दृष्टिकोण बदल्न सक्ने सम्भावना भएकोले त्यहाँका नेपालीहरुले सकारात्मक रुपमा लिएका छन् । साथै उनले लिएका एजेण्डाहरुका कारण उनलाई अमेरिकीहरुले पनि मन पराएका छन् ।
उनले आफूले अमेरिकीहरुबिच एकता र समानता ल्याउनका लागि चुनावमा होमिएको बताएका छन् । एड्रियनले मानसिक स्वास्थ्य सेवा सुधार गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने, र महिलाको प्रजनन अधिकार, रोजगारी सिर्जना, श्रमिक संघहरूको अधिकार र लोकतन्त्रको सुरक्षालाई प्राथमिकता दिएका छन् ।
पोख्रेल सैन्य खुफिया, व्यवस्थापन, नेतृत्व, साइबर, नैतिक ह्याकर, नेटवर्क प्रशासक, सुरक्षा विशेषज्ञ, राष्ट्रिय सुरक्षा जस्ता विषयका ज्ञाता छन् । धरानको शिक्षा सदनबाट शिक्षा सुरु गरेका उनले अमेरिकामा बिजनेस एड्मिनिस्ट्रेसन, फाइनान्स, इन्टेलिजेन्स स्टडी र रणनीतिक सुरक्षा विषयमा अध्ययन गरेका थिए । आउँदो जुन १८ मा हुने प्राथमिक निर्वाचनमा पोख्रेलसहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
वासुदेव पोखरेल र धरानी पोखरेलको कोखबाट धरान १४ विजयपुरमा आशीष पोखरेलको जन्म भएको थियो । उनले धरानकै शिक्षा सदन माविबाट स्कुले शिक्षा लिए भने उच्च शिक्षा काठमाडौको शंकर देव क्याम्पसबाट पाए ।
उनले अमेरिकाको टेक्सासस्थित सान ज्याकिन्टो कम्युनिटी कलेमा बिजनेस एड्मिनिस्ट्रेसन र ह्युस्टन विश्वविद्यालयबाट फाइनान्स विषयमा स्नातक उत्तीर्ण गरे । उनको अध्ययन त्यतीमै रोकिएन । अमेरिकी सैन्य विश्वविद्यालयबाट इन्टेलिजेन्स स्टडीमा मास्टर्स अनि राष्ट्रिय अमेरिकी विश्वविद्यालयबाट रणनीतिक सुरक्षामा पीएचडी–सी गरे ।
अमेरिकामा सुरुवाती दिनमा ह्युस्टन क्षेत्र वरपर ग्यास स्टेशनमा काम गरेका उनले त्यसपछि कन्टिनेन्टल एयरलाइन्समा विभिन्न पदमा ११ वर्ष काम गरे । त्यसपछि ह्युस्टन प्रहरी विभाग, यातायात सुरक्षा प्रशासन, रेलमार्ग, राष्ट्रिय सुरक्षा एजेन्सी हुँदै उनले केन्द्रीय खुफिया एजेन्सी (सीआईए) मा ६ वर्ष काम गरे ।
उनले अमेरिकी सेनामा भर्ती भएर सैनिक हुँदै अधिकारीसम्म भए । सेनाको अधिकारी भएर १२ वर्ष काम गरे । उनले जहाँबाट उनले कप्तान भएर अवकाश पाएका थिए ।
तपाईको प्रतिक्रिया