चुनावपछि समानान्तर गतिविधि अपराधः मुख्यमन्त्री

समाधान संवाददाता २०८१ जेठ ९ गते ९:५७

पोखरा ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न एकतावद्ध बलियो पार्टी आवश्यक भएकोमा जोड दिएका छन् ।

Advertisement

नेकपा (एमाले) कास्की जिल्ला कमिटीले मंगलबार पोखरामा आयोजना गरेको सहिद कृष्णबहादुर भुजेलको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टीलाई सुदृढ र बलियो बनाउन संवेदनशील बन्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।


केही नेता तथा कार्यकर्ताबाट पार्टी विरोधी गतिविधि भइरहेका भन्दै उनले असन्तुष्टि जनाए । ‘फेसबुकमा एमाले विरोधी अभियान चलाइएको छ, अराजकता फैलाइएको छ, बहालवाला स्थानीय कमिटीकै पदाधिकारीले त्यो काम गरिरहनुभएको छ’, अधिकारीले भने ।


निर्वाचनपछि समानन्तर गतिविधि गर्नु भनेको महाअपराध हुने भन्दै त्यस्ता गतिविधि नगर्न सचेत गराए । ‘चुनावपछि समानन्तर गतिविधि गर्नु भनेको महाअपराध हो त्यस्तो काम गर्नु हुँदैन,’ उनले भने । पार्टीले अगालेको सिद्धान्त अनुसार व्यक्तिको मानसिकतामा परिवर्तन नआउँदा समस्या भएको उनको बुझाइ छ ।


अधिकारीले हालको सक्ता समीकरणलाई बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे । ‘हामीले गर्न खोजेको समीकरण हो, पार्टी एकता होइन, पार्टी एकताको आवश्यकता व्यवहारले गर्दै गयो भने हुनेछ,’ उनी भन्छन् । सहिद परिवार पार्टीप्रति दृढ रहेकै कारण पार्टी यहाँसम्म आइपुगेको भन्दै सबैले सहिद तथा उनका परिवार सम्झेर सहिदा सपना पूरा गर्न ध्यान दिनुपर्ने जनाए ।

Advertisement


सहिद कृष्ण भुजेल स्मृति प्रतिष्ठान कास्कीका संयोजक विष्णु बरालले प्रतिष्ठानमार्फत गर्न खोजेका कामको बारेमा जानकारी गराए । प्रतिष्ठानले ५ लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने लक्ष्य लिएको छ । कोषमा आफ्नो एक महिनाको तलब उपलब्ध गराउने प्रतिवद्धता मुख्यमन्त्री अधिकारीले जनाए ।


सोही कार्यक्रममार्फत सहिद कृष्णबहादुर भुजेल स्मृति छात्रवृक्ति लक्ष्मी माविकी छात्रा मनिषा सुवेदी र जनज्योति माविकी छात्रा आशिका पौडेललाई हस्तान्तरण गरियो । नेकपा (एमाले) कास्की जिल्ला कमिटीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भेषराज बराल र सचिव दर्शन लामाले पनि बोलेका थिए ।


तत्कालिन राखी गाविसका भुजेलमाथि २०५४ साल जेठ ४ गते पोखरा २८ कालिका झाँझरमारेमा सांघातिक आक्रमण भएको थियो । आक्रमणबाट सख्त घाइते भुजेलको उपचारको क्रममा जेठ ८ गते १७ वर्षको उमेरमा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया