पश्चिमाञ्चल माविमा सौन्दर्य र केश कला पढाइ हुने

समाधान संवाददाता २०८१ जेठ ९ गते १०:०७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ४ गैरापाटनमा रहेको पश्चिमाञ्चल माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ‘सौन्दर्य तथा केश कला’ विषयको पढाइ थाल्ने भएको छ । विद्यालयले प्रशासनिक प्रक्रियाहरु पूरा गरी आउँदो कक्षा ११ को नयाँ भर्नाबाट यस विषयको कक्षा सञ्चालन गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

Advertisement


यस विषयको पठनपाठन कक्षा ११ मा १०० पूर्णांक र कक्षा १२ मा १०० पूर्णांक गरी जम्मा २०० पूर्णांकको हुने प्राचार्य सरोज कोइरालाले जानकारी दिए । पाठ्यक्रम ५० पूर्णांक प्रयोगात्मक र ५० पूर्णांक सैद्धान्तिक प्रकृतिको रहेको बताइएको छ ।

व्यवस्थापन संकाय अन्तर्गत पठनपाठन हुने भएकाले यस संकायमा लाग्ने शुल्क अतिरिक्त यस विषयको अध्ययन गर्ने विद्यार्थीका लागि थप प्रयोगात्मक शुल्क २४ हजार लाग्ने प्राचार्य कोइराला बताए । विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि आइरिस ब्युटिपार्लरको ल्याब प्रयोग हुने उनले सुनाए ।


‘सौन्दर्य तथा केश कला’ विषय पोखरामा संस्थागत विद्यालयमा पहिलोपटक सञ्चालन हुन लागेको पत्रकार सम्मेलनमा बताइयो । यसका लागि आवश्यक जनशक्ति र सुविधासम्पन्न प्रयोगशालाको व्यवस्था गरिएको छ । विद्यालयले सौन्दर्य तथा केश कला विषयबारे पूर्व जानकारी दिन जेठ १६ गतेदेखि ५० जनालाई १ हप्ते सेल्फ मेकअप, स्किन केयर सम्बन्धी निशुल्क तालिम पनि विद्यालयले गर्न लागेको विद्यालयका अध्यक्ष प्राडा रामनाथ ओझाले बताए ।


आइरिस हेयर एन्ड ब्युटी केयर प्रालिको सहकार्यमा उक्त निशुल्क तालिम सञ्चालन हुन लागेको उनले बताए । लामो समयदेखि ११ र १२ कक्षामा व्यावसायिक, सीपमूलक र व्यवहारोपयोगी विषयहर पठनपाठन गराउँदै आएको पश्चिमाञ्चल माविले पछिल्लो समय ब्युटीसियन व्यवसाय फस्टाइरहेको र हजारौंले यही व्यवसायमार्फत रोजगारी प्राप्त गरिरहेकाले यो विषय अध्यापन गराउन लागिएको अध्यक्ष ओझाको भनाइ थियो ।

Advertisement


पश्चिमाञ्चल मावि १० जोड २ का संयोजक देव क्षेत्रीले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास गराइने जानकारी दिए । उनले यो विषय पढेका विद्यार्थीले भविष्यमा बिबिए र बिबिए पनि पढ्ने सक्ने उनले बताए । पाठ्यक्रम विकास केन्द्रले बनाएको पाठ्यक्रम अनुसारको पढाइ हुने जानकारी पनि उनले दिए । स्वरोजगार बन्ने र रोजगारी सिर्जना गर्न सक्ने दक्ष जनशक्ति उत्पादन हुने विश्वास उनको थियो । पत्रकार सम्मेलनमा उपस्थितलाई सहप्राचार्य मीनु श्रेष्ठ कुँवरले स्वागत गरेकी थिइन् ।


२०४९ मा स्थापना भएको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा हाल नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरु सञ्चालन भइरहेका छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया