डब्लुआरसीमा ग्र्याजुएट सम्मेलन

पोखरा ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, (डब्लुआरसी) लामाचौर, पोखरामा जेठ ४ र ५ गते विभिन्न इन्जिनियरिङ विधाका ग्र्याजुयसन सम्मेलन भएको छ । विभिन्न शैक्षिक संस्था सम्बद्ध अनुसन्धाताहरुको प्रस्तुतीकरणका साथ १५ औं आइओई ग्र्याजुएट सम्मेलन भएको हो ।
विद्यार्थीहरुका अनुसन्धानमूलक अध्ययन तथा प्रोजेक्टद्वारा उत्पादित तथ्यांक र मोडेलहरु सम्मेलनमा विज्ञहरुको वीचमा प्रस्तुत गरिएको थियो । तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धानात्मक लेख प्रकाशन गर्ने र व्यावसायिक उत्पादनमा रुपान्तरण गर्ने उद्देश्यसहित २०७२ देखि अर्धवार्षिक रुपमा इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पसहरुमा पालैपालो आइओई ग्र्याजुएट सम्मेलन हुँदै आएको छ ।
पश्चिमाञ्चल क्याम्पसमा सम्पन्न १५ औं आइओई ग्र्याजुएट सम्मेलनमा पोखरा विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका प्रध्यापक डा. विनयकुमार मिश्र तथा भारतीय प्राद्योगिकी संस्थान, इन्दोर, भारतका प्राध्यापक डा. नीलिमा सत्यमले मूल कार्यपत्र (कि नोट पेपर) प्रस्तुत गरेका थिए ।
सम्मेलनको समानान्तर सेसन अन्तर्गत सञ्चालित इन्जिनियरिङ तथा विज्ञान प्रविधिका विभिन्न विधाका ५१ वटा पेपरहरुको प्रस्तुतीकरणमा विद्यार्थी तथा शिक्षकहरुको सक्रिय सहभागिता थियो । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा शशीधर राम जोशीको अध्यक्षतामा सम्पन्न सम्मेलनको उदाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा खड्ग केसीले इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित अनुसन्धानात्मक गतिविधिहरुको प्रसंशा गर्दै अरु संकाय र अध्ययन संस्थानहरुमा पनि नियमित ग्राजुयट सम्मेलनको आवश्यकता औंल्याए ।
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका स्नातकोत्तर तह अन्तिम सेमेस्टरका विद्यार्थीहरुको थेसिसका साथ ग्र्याजुयट सम्मेलन या राष्ट्रिय, अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेख पनि संलग्न गराउनुपर्ने व्यवस्था गरिएको छ । सम्मेलनको उदघाटन सत्रमा गण्डकी विश्वविद्यालय, स्कुल अफ साइन्सेसका डिन डा. कपिल अधिकारी, पोखरा विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायका डिन प्रा. राजेशकुमार ठगुराठीले शुभकामना मन्तव्य राखे ।
सम्मेलनका संयोजक डा. भीमकुमार दाहालले सम्मेलनको पृष्ठभूमि, उद्देश्य र महत्वमाथि प्रकाश पारे । जयन्ती ठाकुर र अनुराग अधिकारीको उदघोषणमा पश्चिमाञ्चल क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. हरिशरण अधिकारीले स्वागत मन्तव्य राखे ।
सम्मेलनको कि नोट सेसनको सहजकर्ताहरू सह प्राडा कृष्णराज अधिकारी र प्राडा विष्णुप्रसाद पाण्डे थिए । २०८१ जेठ ५ गते त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा शशीधर राम जोशीको अध्यक्षतामा मन्दाकिनी सापकोटा एवं अनुराग अधिकारीद्वारा सञ्चालित समापन समारोहमा पश्चिमाञ्चल क्याम्पसका क्याम्पस प्रमुख निर्मलप्रसाद बराल र सम्मेलनका संयोजक डा. भीमकुमार दाहालले धन्यवाद ज्ञापन गरे ।
तपाईको प्रतिक्रिया