कामबाटै प्रदेशको औचित्य पुष्टि गरौं: अधिकारी

पोखरा ।
सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको आलोचना गर्नेहरूलाई कामबाटै जवाफ दिन आग्रह गरेका छन् । सत्रौं गणतन्त्र दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले मंगलबार पोखरामा आयोजना गरेको मुल समारोहमा उनले प्रदेश स्थापनापछि धेरै क्षेत्रमा परिवर्तन आएको दाबी गरे ।
उनले गण्डकी प्रदेशमा ऊर्जा, खानेपानी, सञ्चार, कृषि पर्यटन लगायतका क्षेत्रमा जनताले महसुस गर्नेगरी सकारात्मक परिवर्तन आएको उनको दाबी छ । प्राप्त उपलब्धिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नभए पनि जनताबाट आएको टिप्पणीलाई ध्यान दिँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
‘हामी गर्न सक्छौं, आँटौ, गम्भीरतापूर्वक अगाडि बढौं, हामीले नबनाए कस्ले बनाउँछ ? अहिले नबने कहिले बन्छ ? यो आँट र जोसका साथ अनैकौं टिप्पणीलाई सम्मान गर्दै कामबाटै जवाफ दिएर प्रदेशको औचित्य पुष्टि गरौं’, उनले भने । गण्डकी प्रदेश सुशासन र पुँजीगत खर्च बढाउन अगाडि रहेको र सार्मथ्यमा पनि विस्तारै अगाडि बढेको उनको भनाइ छ ।
अदालतको एउटा बेन्चले गरेको निर्णय अर्को बेन्चले उल्ट्याउन फुल बेन्च आवश्यक पर्ने भन्दै उनले सर्वोच्चको सोमबारको आदेशप्रति असन्तोष जनाए । ‘हिजो डिभिजन बेन्चले नै मलाई वैध बनाएको हो । यो नियुक्ति ठीक छ भन्यो । अहिले त्यो बेलाको खण्डन गर्न अदालतको प्रक्रियामा पनि फुल बेन्च आवश्यक छ भन्ने मैले बुझेको हो,’ उनले भने ।
प्रदेशसभामा अहिले पनि ३१ जनाको साथ आफूलाई भएकाले आफ्नो पक्षमा स्पष्ट बहुमत भएको उनको जिकिर छ । ‘निर्णायक मत बराबर भएको बेलामा मात्र प्रयोग गर्ने हो । ६० जना भएको ठाउँमा बराबर हुँदैन भन्ने दुनियाँले बुझेको छ,’ उनले भने । यसका लागि संवैधानिक व्याख्या आवश्यक पर्ने अधिकारीले जनाए ।
उनले सर्वोच्चको परमादेश आउनेबित्तिकै मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी नचढेको सुनाए । ‘नियममा सपथ गर्ने र हस्तान्तरण गर्ने हो, तर म त्यसभन्दा पहिल्यै नै सचेत छु,’ अधिकारीले भने । कार्यक्रम स्थलमा पैदल आएका उनी पैदलै फर्किएका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशप्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव यमुना प्रधान लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया