विद्यापीठमा प्राज्ञिक लेखन कार्यशाला

पोखरा ।
पोखरा–१ स्थित विन्दवासिनी संस्कृत विद्यापीठमा प्राज्ञिक लेखन कार्यशाला तथा तालिम भएको छ । विद्यापीठअन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा कार्यक्रम भएको हो ।
५ दिने कार्यशाला र तालिममा प्राज्ञिक लेखनका विषयमा कार्यपत्र प्रस्तुति, छलफल, लेखन अभ्यास र प्रस्तुतीकरण गरिएको थियो ।
यही जेठ १३ गतेबाट सुरु भएको कार्यक्रममा ७ बटा कार्यपत्रहरू प्रस्तुत गरिएको अनुसन्धान व्यवस्थापन एकाइका सदस्य सचिव उपप्रा. प्रकाश पौडेलले जानकारी दिए ।
कार्यक्रमको उदघाटन पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जर्ज जोनले गरे । उनले आजको युग प्रकाशनको रहेको हुँदा प्राध्यापकले गरेको प्राज्ञिक वा कार्यमूलक अनुसन्धानलाई लिपिबद्ध गरी प्रकाशन गर्नुपर्छ, त्यसका लागि यस्ता कार्यक्रम उपयोगी बन्ने बताए ।
विन्दवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मीले कार्यशालामा विभिन्न विज्ञहरूबाट प्राज्ञिक लेखन सम्बन्धमा महत्वपूर्ण जानकारीहरू प्रदान गरिने जानकारी दिए ।
यस सत्रमा विद्यापीठको प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष उपप्रा. श्यामप्रसाद पौडेल, अंग्रेजी विभागका अध्यक्ष प्रा. सत्यराज सुवेदी, सहप्रा. डा. भोलानारायण रेग्मी, एकाइका संयोजक चूडामणि कँडेललगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रा.डा. नारायण चालिसे, डा. खगेन्द्र घोडासैनी, डा. श्रीधर न्यौपाने र डा. त्रिभुवन बरालले कार्यपत्र प्रस्तुत गरे । उनीहरूका कार्यपत्रमा लघु अनुसन्धान प्रस्तावनालेखन, प्राज्ञिक लेखन, सुलेखन विधि, भावहरण र विभिन्न प्रकारका संकथन पहिचान र लेखन सिपसँग सम्बद्ध थिए ।
त्यस्तै प्रा.डा. जगन्नाथ रेग्मी, सहप्रा. डा. भोला नारायण रेग्मी सहप्रा. आनन्दमणि रिजाल, सहप्रा. डा. काशीनाथ कण्डेल, उपप्रा. प्रकाश पौडेलले छलफलका सत्र सञ्चालन र लेखन कार्यशालाको संयोजन गरेको कार्यक्रममा विभिन्न १४ ओटा सत्रमा कार्यपत्र प्रस्तुति र छलफल, ३ ओटा सत्रमा लेखन कार्यशाला र ३ सत्रमा समूहगत प्रस्तुतीकरणमाथि विज्ञबाट पृष्ठपोषण प्रदान गरिएको थियो ।
य जेठ १७ गते सम्पन्न समापन सत्रमा नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोगका सदस्य सचिव प्रा. मुरलीमोहन बास्तोलाले कार्यक्रमका कार्यपत्र प्रस्तोता, सहजकर्ता र सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै केही प्राप्त गर्न गरिने उद्देश्यमूलक अनुसन्धानभन्दा समाजका लागि गरिने दायित्वपूर्ण अनुसन्धानले व्यक्तिलाई फाइदा पुग्छ भन्ने धारणा राखे ।
पृथ्वीनारायण क्याम्पसको विद्यार्थी कल्याण शाखा प्रमुख उपप्रा. डा. बोधराज ढकाल, प्राचार्य प्रा. डा. जगन्नाथ रेग्मी र सहप्रा. चूडामणि कँडेलले समापन मन्तव्य राखेका थिए ।
सहभागीका तर्फबाट पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक गीता पौडेल गुप्तेश्वर बहुमुखी क्याम्पसका उपप्राध्यापक जमुना अर्याल र उपप्रा. गणेश शर्मा सुवेदीले कार्यक्रम प्रभावकारी र उपलब्धिपूर्ण रहेको समीक्षा प्रस्तुत गरेको कार्यक्रममा विद्यापीठ तथा पोखरामा रहेका त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा कार्यरत ४० जना प्राध्यापकको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया