प्रतिभा माविमा फेयर सुरु

समाधान संवाददाता २०८१ जेठ २५ गते १६:४२

पोखरा ।
पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर ३ दिनसम्म चल्नेछ ।

Advertisement


विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयर उद्घाटन गरे । फेयरमा २ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने प्राचार्य सापकोटाले जानकारी दिए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी आएका छन् । विद्यार्थीले व्यक्तिगत, समूहगत वा विद्यालयबाट सहभागिता जनाएका हुन् ।


प्राचार्य सापकोटाका अनुसार विज्ञान हाजिरीजवाफ, नेपाली वक्तृत्वकला, छात्र तथा छात्रा बास्केटबल, भलिवल, टेनिस, चेस, ब्याडमिन्टन, फुटसलका प्रतियोगिता हुने छन् । त्यस्तै सूचना प्रविधिका गतिविधिबारे पनि जानकारी दिइनेछ । फुटसल र बास्केटबलमा करिब एक–एकसय टिम सहभागी छन । सबैगरी १३ प्रतियोगिता गरिँदै छन् ।


‘एसइई दिएर बसेका विद्यार्थीलाई सक्रिय बनाउन र उनीहरु भित्रको प्रतिभा प्रस्फुटन गराउनका लागि कार्यक्रम गरेका हौं,’ सापकोटाले भने, ‘कामविहीन तरिकाले घरभित्र बसिरहनुभन्दा विद्यार्थीलाई यो बेला सक्रिय राखिराख्यो भने उनीहरुको प्रतिभा प्रस्फुटन हुन्छ ।


विद्यार्थीलाई प्रविधिमा स्मार्ट बनाउनका लागि सूचना प्रविधिसँग सम्बन्धित गतिविधि आवश्यक रहेको उनले बताए ।
माइ सेकेन्ड टिचर (एमएसटी)सँगको सहकार्यमा सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रम गरिनेछ । सापकोटाका अनुसार प्रतिभा माविले विद्यार्थीलाई आवश्यकता अनुसार अतिरिक्त पाठ्यक्रम अध्यापन गराएर अब्बल बनाउने गरिएको छ ।

Advertisement


‘हामीले विद्यार्थीका हरेक क्षमतालाई कदर गर्छाै । विद्यार्थी सबैका आ आफ्नै क्षमता र खूबी हुन्छन् । हामी ती क्षमतालाई कदर गरेर अगाडि बढ्न हौसला दिन्छौ,’ उनले भने, ‘यहाँ जित्ने हार्नेभन्दा पनि क्षमता देखाउने अवसर विद्यार्थीलाई हुनेछ ।’ उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार पनि दिइनेछ । सबै सहभागी विद्यार्थीले प्रमाणपत्र पाउने छन् ।


माइ सेकेन्ड टिचरका गण्डकी प्रदेश प्रमुख विवेक श्रेष्ठले प्रविधिलाई जोडेर यो कार्यक्रम आयोजना गरिएको बताए । विद्यालयका बिहानी सत्रका व्यवस्थापन विषयका संयोजक डा. बोधराज ढकालले विद्यार्थीलाई सक्रिय र रचनात्मक बनाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । प्रतिभा माविमा ११ र १२ कक्षामा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान संकायमा अध्यापन हुन्छ ।

तपाईको प्रतिक्रिया