सृजना माविमा समर मेला

पोखरा ।
पोखरा–८, सृजनाचोक शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा सृजना समर मेला २०८१ भएको छ । जेठ ३२ गते र असार १ गते दुई दिवसीय रूपमा मेला भएको हो ।
शैक्षिक सत्र २०८० को एसइई परीक्षामा सम्मिलित विद्यार्थीहरूको शैक्षिक वृद्धि, व्यक्तित्व तथा नेतृत्व विकासका साथै सामाजिक सचेतना जगाउने उद्देश्यका साथ उक्त मेला आयोजना गरिएको थियो ।
विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले उद्घाटन गरेको मेलामा विभिन्न विधाका १४ वटा स्टल राखिएका थिए ।
मेलाका दुवै दिन हस्पिटालिटी म्यानेजमेन्ट, साइबर अपराध तथा लागु पदार्थ दुव्र्यसनी, स्टक मार्केट, नेतृत्व सिप विकास तथा साइबर सेक्युरिटीजस्ता विभिन्न विषयमा विषय विज्ञहरूद्वारा तालिम सञ्चानल गरिएको थियो । विज्ञान, पुस्तकालय तथा आइटी सम्बन्धी प्रदर्शनी समेत राखिएको थियो ।
मेलामा कक्षा ११ होटल म्यानेजमेन्ट समूहका विद्यार्थीहरूको सक्रियातामा फुड फियस्ट सञ्चालन भएको थियो भने विज्ञान तथा व्यवस्थापन समूहका विद्यार्थीहरूद्वारा विभिन्न मनोरञ्जनात्मक खेलहरू सञ्चालन भएका थिए ।
गण्डकी प्रदेश स्तरीय टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा २०८० को एसइई परीक्षामा सम्मिलित विद्यार्थीहरू सहभागी भएका थिए ।
कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष तथा गण्डकी प्रदेशका संयोजक उत्तम जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा छात्रातर्फ १५ जना र छात्रतर्फ ६० जना खेलाडी विद्यार्थीहरूको सहभागीता रहेको खेलमा छात्रातर्फ सगरमाथा तिकेतनकी सेजल बानियाले प्रथम स्थान हसिल गरिन् ।
ग्लोबल कलेजियट स्कुलकी सुस्मी गुरुङले द्वितीय स्थान र सेन्ट मेरिज स्कुलकी गौरी भुजेल तथा नोबेल सेकेण्डरी स्कुलकी सुदीक्षा पाण्डेले तृतीय स्थान हसिल गरेका थिए ।
छात्रतर्फको खेलमा नेसनल इन्भेन्टिभ स्कुलका यूनिस भुजेल, ग्लोबल कलेजियटका नितेश गुरुङ, पुष्पसदन एकेडेमीका अनमोल थापा तथा लिटिल स्टेप स्कुलका गौरव शेरचन क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।
असार १ गते खेलको समापनको क्रममा विजेता खेलाडीहरूलाई पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । खेलको उद्घाटनका क्रममा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रदेश स्तरीय यू–१५ टेबलटेनिस छनोट प्रतियोगितामा गण्डकी प्रदेश प्रथम भई राष्ट्रिय स्तरको खेलमा तृतीय स्थान हासिल गरी सृजना सेकेण्डरी स्कुलको गरिमा उच्च राख्न सफल छात्राहरू राजश्री अधिकारी र सक्रिया पोख्रेल एवं गण्डकी प्रदेश प्रथम तृषा गुरुङलाई सम्मान समेत गरिएको थियो ।
मेलामा उपस्थित विद्यार्थी लगायत सम्पूर्ण महानुभावहरूलाई मनोरञ्जन प्रदान गर्न जेठ ३२ गते रंगमञ्च ब्याण्डको प्रस्तुति र असार १ गते इन्टरभल ब्याण्डको प्रस्तुति थियो । यसका साथमा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
मेलालाई सम्पन्न गर्न खटेका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै विद्यालय निर्देशक सीता पाण्डेले कार्यक्रम समापन गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया