रेडियो बाराहीमा पत्रकारिताका विद्यार्थी

समाधान संवाददाता २०८१ असार ११ गते ११:२०

पोखरा ।
काठमाडौँको जडीबुटी–३२ मा रहेको कोटेश्वर बहुमुखी क्याम्पसका बिए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले सोमबार पोखरामा रहेको रेडियो बाराही ९९.२ मेगाहर्जको स्थलगत अवलोकन गरेका छन् ।

Advertisement


सैद्धान्तिकसँगै व्यावहारिक ज्ञानलाई अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्याम्पसले ३ दिने अवलोकन भ्रमण अन्तर्गतको दोस्रो दिन रेडियो बाराही अवलोकनका लागि आएको कोटेश्वर बहुमुखी क्याम्पसका विभागीय प्रमुख मनोज अधिकारीले बताए ।


विद्यार्थीहरुलाई मिडियाको वास्तविक स्वरुपकारे विषयमा स्थलगत रुपबाटै अवलोकन गराउँदा झन् प्रभावकारी हुने क्याम्पसका प्राध्यापक गोकुल पोखरेलले बताए ।

रेडियो बाराहीका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियो आफैमा एउटा सूचनाको संवाहक रहेको हुँदा अहिलेको समयमा रेडियो आधुनिकतातिर ढल्किँदै गई केही परिस्कृत भएको सुनाए । उनले पोखरा पर्यटकीय राजधानी रहेको हुँदा यहाँ आउने पर्यटक, पर्यटन स्थल, होटल, विकासका पूर्वाधारमा पोख्रेलीहरुको मेहेनत बढी नै रहेको बताए ।


कार्यकारी निर्देशक पौडेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा प्रयोग गरेमात्र क्याम्पसका ज्ञानले सार्थकता पाउने विचार व्यक्त गरे । उनले रेडियोको स्थापनासँगै उपयोगिता र प्रभावकारिताबारे समेत जानकारी दिए ।

Advertisement

अवलोकनमा आएका विद्यार्थीहरुले रेडियो, पत्रकारिता लगायत विषयसँग सम्बन्धित आ–आफ्ना जिज्ञासा पनि राखेका थिए । अवलोकनमा क्याम्पसका प्राध्यापकहरु पदमराज जोशी, लेखनाथ घिमिरे सहित बिए दोस्रो वर्षका करिब ३५ जना विद्यार्थीहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया