एसओएसका सचेतको ४ जिपिए

समाधान संवाददाता २०८१ असार १३ गते १७:३५

पोखरा ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका सचेत सुवेदीले ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिए ।

Advertisement


एसइईमा अक्षराङ्कन पद्धति अवलम्बन गरिएपछि एसओएस गण्डकीबाट ४ जिपिएसहित सचेतले नयाँ अभिलेख कायम गरेका हुन् । परीक्षाको तयारीमा आफ्नो निरन्तरको साधना तथा शिक्षकहरूको रचनात्मक पृष्ठपोषण र हौसलबाट आफूले यो सफलता हासिल गरेको छात्र सचेत सुवेदीले बताए ।


‘सबै विषयलाई समान महत्त्व प्रदान गरी तयारी गर्दा मैले आज यो सफलता प्राप्त गर्दा खुसी लागेको छ,’ सचेतले भने, ‘यस सफलताका पछाडि मेरा अभिभावकको पनि सदैव उत्प्रेरणादायी भूमिका रह्यो ।’


विद्यालयका तर्फबाट यस वर्षको एसइईमा सहभागी ८८ विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ विद्यार्थी रहेको सहप्रधानाध्यापक वीरसिंह बूढाले बताए । ५१ जना विद्यार्थीले ३.६ भन्दा माथि, १५ जना विद्यार्थीले ३.२ भन्दा माथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रधानाध्यापक बूढाले जानकारी दिए ।
सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकीले अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकालाई समेत शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया