कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखरा ।
पोखराको कालिका बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा असार १२ गते क्याम्पसलाई ’क्युएए’ प्रदान गरेको हो ।
लामो समयदेखिको मेहनत र प्रयास पछि, सबै चरण पार गरि क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए ।
क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तराष्ट्रिय मापन भएकोले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ ।
‘शिक्षण पद्धतिमा सुधार ल्याउन सकेमा, नतिजा समयमै प्रकाशित गर्न सकेमा तथा चार वर्षे भनेर तोकिएको कोर्ष चार वर्षभित्रै पुरा गर्न सकेमा शिक्षा क्षेत्रमा विकास हुन्छ,’ गौतमले भने, उद्योग, सरकारी र शैक्षिक संस्था बिच समन्वयन भएमा बेरोजगारी समस्या कम हुने थियो । उद्योगले कस्तो जनशक्ति खोजेको छ शैक्षिक संस्थाले त्यस्तै जनशक्ति उत्पादन गर्नसक्नुपर्छ ।’
क्याम्पसमा बिएएलएलबि, बिसिएम र बिएएचएम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
लामो समयको निरन्तर मेहेनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पस क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसिले बताए । आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको उनको भनाइ छ ।
‘यो ऐतिहासिक सफलता हो तर पूर्ण सफलता भने होइन । थप सफलताको लागि मेहनत र प्रयास निरन्तर गर्नुपर्छ । क्याम्पसको सफताको लागि निरन्तर लागिरहने छु,’ उनले भने ।
क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायतका अन्य सुविधा प्राप्त हुने गर्छ ।
२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् । कलेजमा एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया