सहारा आविलाई फर्निचर सहयोग

पोखरा ।
पोखरा–९ पृथ्वीचोकमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई विभिन्न दाताहरुबाट प्राप्त सहयोगबाट किनिएको फर्निचर हस्तान्तरण गरिएको छ । १ लाख ४ हजार रुपैयाँका १२ थान डेस्कबेन्च र १ सेट कुर्ची टेबल बुधबार विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यबहाक अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा दाताहरुबाट उक्त रकम संकलन गरिएको हो ।
क्यानाडामा बस्ने सञ्जीव/सोनाम थापा, अतित/कुसुम गुरुङ, रोहन आले मगर, अस्ट्रेलिया बस्ने दिया राई, ईश्वर जलारी, प्रेणा/राजेश मल्ल ठकुरी, बेलायत बस्ने हिमाल थापा मगर, दीपिका/पृथ्वीराज राई अमेरिका बस्ने सिद्धार्थ थापा मगर, भारतीय सेनामा कार्यरत भूपेन्द्रजंग राना र उनकी धर्मपत्नी अनिता राना, पोल्यान्डमा कार्यरत आशीष राना र दक्षिण कोरियामा रहेका मनोज/सरिता रानाले विद्यालयका निम्ति सहयोग पठाएका थिए ।
फर्निचर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले दाताहरुलाई धन्यवाद दिइन् । पोखरा ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले विद्यालयको भौतिक पक्ष र शैक्षिक गुणस्तर वृद्धिमा स्थानीय तहले सम्भव भएसम्म सहयोग गर्न तत्पर रहेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा भएको कार्यक्रममा, विद्यालयका शिक्षक सुदीप कोइराला र वडा सचिव टुलराज पौडेलले पनि बोलेका थिए ।
विद्यालयमा २ सय ७० विद्यार्थी छन् ।
तपाईको प्रतिक्रिया